काठमाडौं । साफ वुमन्स च्याम्पियनसिपको पहिलो उपाधिको खोजीमा रहेको नेपाल बङ्गलादेश विरुद्धको फाइनल भिडन्तमा २–१ अन्तर गोलले पराजित भएको छ । नेपाल अन्तर्राष्ट्रिय महिला फुटबलको फाइनलमा पराजित भएको यो १२ औं पल्ट हो । हारसँगै नेपालको पहिलोपल्ट उपाधि जित्ने सपना अधूरै रह्यो । बंगलादेशले सन् २०२२ को उपाधि दशरथ रंगशालामै जितेको थियो ।
त्यति बेला पनि बंगलादेशले उपाधिको भिडन्तमा नेपाललाई नै हराएको थियो । नेपालले साफ च्याम्पियनसिपको फाइनलमै पराजित भएको यो छैटौं पल्ट हो । रितुले नेपाली पोस्टको ठीक बाहिरबाट गरेको उत्कृष्ट प्रहार सुन्दर गोलमा परिणत भएको थियो । पूरा प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेकी रितुले त्यस्तै खेल फाइनलमा पनि दोर्होयाइन् ।
पहिलो हाफको गोलरहित बराबरीपछि खेलले गति लिएको थियो । खेलको पहिलो गोल बंगलादेशले निकालेको थियो । नेपाली डिफेन्सको कमजोरीको फाइदा उठाउँदै ५२ औं मिनेटमा मोनिका चक्माले गोल गरिन् । नेपालले ५६ औं मिनेटमा बराबरी गोल फर्कायो । प्रिति राईको थ्रु पासमा अमिशाले बंगलादेशी गोलरक्षकलाई कुनै अवसर नदिई गोल गरिन् ।
पहिलो हाफमा बंगलादेशले सुरुमै मौका पाएको थियो । नेपाली डिफेन्डर गीता राना चिप्लिएको स्थितिमा सिर्जना भएको अवसरमा सविता खातुनको पोस्टमा लागेको थियो । खेलको दसौं मिनेटमा नेपाल त्यस्तै स्थितिबाट गुज्रियो । सावित्रा भण्डारीको पासलाई नियन्त्रण लिएर अमिशाले गरेको प्रहार पोस्टमा ठोकिएको थियो ।