पोखरा ।
नेपालले तीन खेलको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलामा सोमबार अमेरिकामाथि ऐतिहासिक क्लिन स्विप गरेको छ । नेपाल सिरिजका तीनै खेलमा विजयी रह्यो ।
डलासमा भएको अन्तिम खेलमा नेपालले अमेरिकालाई आठ विकेटले पराजित गरेको हो । सुरुवाती दुई खेल जितेर नेपालले यसअघि नै सिरिजमाथि कब्जा गरिसकेको थियो ।
अमेरिकाले नेपालसामु जितका लागि १ सय ५७ रनको लक्ष्य प्रस्तुत गरेको थियो र त्यसलाई नेपालले १८.४ ओभरमा दुई विकेट गुमाएर पूरा गरेको थियो । नेपालका लागि कुशल भुर्तेलले ४० र कुशल मल्लले ४४ रन बनाए । उनीहरूले तेस्रो विकेटका लागि ७४ रनको निर्णायक र नटआउट साझेदारी गरे ।
नेपालले पहिलो विकेटका लागि ३३ रन जोडेको थियो र अनिल साहले ११ बलमा १३ रन बनाए । उनी जसदीप सिंहको बलमा एलबीडब्लू धरासमा परे । त्यसपछि अर्का ओपनर आसिफ सेखले कुशल भुर्तेलसँग दोस्रो विकेटका लागि ५० रनको साझेदारी गरे । आसिफ ३९ बलमा ५० रन बनाएर जसदीपकै बलमा आउट भए । उनले ३९ बलमा पाँच चौका र दुई छक्का प्रहार गरे ।
टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले पाँच विकेट गुमाएर १ सय ५६ रनको चुनौतीपूर्ण स्कोर खडा गरेको हो । स्कोरबोर्डमा सात रन मात्र छँदा पहिलो विकेट गुमाएको अमेरिकाका लागि ओपनर साइतेज मुकामलले सर्वाधिक ६८ रन बनाए र उनले नै टिमको इनिङ्स बुने । उनले ५१ बलको सामना गरेर पाँच चौका र दुई छक्का प्रहार गरे । उनी सोमपाल कामीको बलमा बोल्ड भए ।