Nidan Media

च्याङ्ग्रा व्यापारीको यात्रा : मुगुको रारादेखि मुस्ताङसम्म

बागलुङ।

उपल्लो मुस्ताङदेखि च्याङ्ग्रा लिएर पोखरा झर्दै गर्नुभएका मुगुका छिरिङ छोर्वे लामा शुक्रबार दिउँसो लुम्लेमा भेटिए । साढे दुई सय च्याङ्ग्रा लिएर आफू आठ दिनअघि उपल्लो मुस्ताङबाट हिँडेको सुनाए ।

मुस्ताङ, म्याग्दी, पर्वत हुँदै लुम्ले आइपुग्नुभएका उनका साथमा दुई साथी पनि थिए । लामो यात्राले थकित शरीरलाई ठाउँठाउँमा विश्राम दिँदै उनी दसैँको मुखमा च्याङ्ग्रा बेच्न लुम्ले आइपुगेका हुन् । च्याङ्ग्रा बिक्री गर्दै आइतबार बिहानसम्म पोखरा पुग्ने उनको योजना छ ।

लामाले दसैँमा च्याङ्ग्रा बेच्न यो मार्गमा यसरी हिँडेको पहिलो पटक भने होइन । विगत एक दशकदेखि नियमित जसो च्याङ्ग्राको व्यापार गर्न उनी मुगुबाट यहाँ आएका हुन् ।

“यसपालि दुई महिनाअघि मुगुको राराबाट हिँडेको थिए, मुगुबाट नेपालगन्ज जहाज र त्यहाँदेखि पोखरा हुँदै गाडीको यात्रामा मुस्ताङ पुगेको थिएँ”, उनले भने । लामो समयदेखि यहाँ आइ च्याङ्ग्रा बिक्री गर्दै आएका छिरिङलाई मुस्ताङदेखि पोखरासम्मका हरेक ठाउँबारे राम्रो जानकारी छ । मुस्ताङ र म्याग्दीका अग्ला भिरपहरा छिचोल्दै लुम्मेसम्म आइपुग्दा उहाँले १८ वटा च्याङ्गा बिक्री भइसकेको बताए ।

लामाभन्दा अगाडि केही व्यापारीले च्याङ्ग्रा पोखरा पुर्‍याइसकेका छन् । अघिल्लो वर्षको तुलनामा मूल्य कम हुँदा च्याङ्ग्राको माग बढेको उनको अनुभव छ । यही असोज २२ गतेसम्म सबै च्याङ्ग्रा बिक्री गरेर गाउँ फर्कने उनको योजना छ ।

मुगुको रारा तालदेखि कास्कीको फेवा तालसम्म च्याङ्ग्रा व्यापारमा वर्षौँ बिताएका लामाले यही पैसाले परिवारको पालनपोषण र छोराछोरी पढाउन सहज भएको उनले सुनाए । उनले मुस्ताङको उच्च हिमाली क्षेत्रदेखि डोल्पासम्म पुगेर च्याङ्ग्रा ल्याउने गर्छन् ।

“दसैँको बेला पोखरामा बस्ने दाजुभाइहरूले च्याङ्ग्राको मासु धेरै रुचाउनुहुन्छ, यो बेला च्याङ्ग्रा लिएर उहाँहरूलाई मासु खुवान पाउँदा हामीहरूलाई पनि खुसी लाग्छ”, लामाले भने, “राराबाट पोखरा आउन सजिलो छैन, म पोखरा, मुस्ताङ र रारा ओहोरदोहोर गर्न लागेको धेरै वर्ष भयो, दुःख छ भनेर काम नगरे के खाने रु, केही न केही काम त गर्नु पर्यो ।”

अघिल्लो वर्ष मूल्य अचाक्ली बढ्दा बजारमा माग कम आएको हुँदा यस वर्ष करिब १० देखि १२ हजारले मूल्य घटाएको लामा बताए। लामाको व्यावसायिक साझेदार हुन् मुस्ताङका कर्मा लामा । उनले भने यस वर्ष हिमालबाट ढिला झर्दा सोचे अनुसारको बिक्री नभएको बताए ।

यस वर्ष च्याङ्ग्राको अधिकतम मूल्य ४० देखि ४५ हजार रहेको कर्माले जानकारी दिए । आफूहरूले बथानमा रहेका रोज्जा (रोजेको) च्याङ्ग्रालाई ४२ हजार रुपैयाँमा दिने गरेको उनले बताए ।

 

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.