पोखरा ।
पछिल्लो समय मोबाइलबाट फिल्मका महत्वपूर्ण दृश्य खिचेर सामाजिक सन्जालमा अपलोड गर्नेको संख्या बढेपछि चलचित्र विकास बोर्डले त्यस्तो नगर्न आग्रह गरेको छ । हालै प्रदर्शनरत नेपाली फिल्म ‘बेहुली फ्रम मेघौली’ का महत्वूर्ण दृश्य खिचेर सामाजिक सञ्जाल फेसबुक, रिल्स र टिकटकमा छ्याप्पछ्याप्ती देखिन थालेपछि निर्माताले गुनासो व्यक्त गरेका छन् । चलचित्र विकास बोर्डले एक सूचना जारी गर्दैै प्रतिलिपि अधिकार उल्लंघन गर्नेलाई कानूनी कार्वाहीको चेतावनी समेत दिएको छ ।
बोर्डले सूचनामा भनेको छ ‘हाल नेपालमा प्रदर्शनरत नेपाली चलचित्रको मुख्य मुख्य अंशहरुको भिडियो सामाजिक संजालभरि व्याप्त भैरहेको सम्बन्धमा बोर्डको ध्यानाकर्षण भएको छ ।’ चलचित्रको मुख्य अंशहरुको अनाधिकृत दुरुपयोगबाट चलचित्र निर्माताहरुको लगानी तथा यसमा सम्बद्ध सम्पूर्णको मिहेनत डुब्न जाने अवस्था रहने बोर्डको भनाइ छ । अर्काको सिर्जना तथा सम्पत्तिको गैरकानूनी रुपमा विभिन्न डिजिटल माध्यममा अपलोड गर्नु कानूनीरुपमा दण्डनीय अपराध रहेको बोर्डले बताएको छ ।
त्यस्ता दृश्य अपलोड गरेको पाइएमा प्रतिलिपि अधिकार ऐन २०५९ र नियमावली २०६१ अनुसार त्यस्तो काममा प्रयोग गरिएको उपकरण जफत हुनुको साथै दण्ड, जरिवाना र क्षतिपूर्ति समेत गर्नुपर्ने तर्फ बोर्डले सचेत गराएको छ ।
फिल्म हलभित्र मोबाइल, क्यामेरा लगायत कुनै पनि किसिमका भिडियो खिच्ने सामग्रीको प्रयोग नगर्नु नगराउन समेत बोर्डले समस्त दर्शकलाई आग्रह गरेको छ ।