पोखरा ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशलाई सुनौलो र समुन्नत गण्डकी प्रदेश निर्माणका लागि पर्यटन र कृषिलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताएका छन् । एबीसी टेलिभिजनको १७ औँ वर्ष शुभारम्भको अवसरमा गण्डकी ब्युरोले पोखरामा आयोजना गरेको ‘सुनौलो गण्डकी, समुन्नत गण्डकी’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले, ‘हामीले गण्डकीलाई आत्मनिर्भर र समुन्नत गण्डकी बनाउनका लागि पर्यटन र कृषि यी दुईवटा क्षेत्रको विकास गर्नुपर्छ । अहिले गाउँबाट सहर झर्ने र सहरबाट विदेश पलायन हुने समस्या देखिएको छ । त्यसैले यसलाई सम्बोधन गर्ने पनि यी दुई क्षेत्र हुन् । त्यसैले यसको क्षेत्रमा हामीले योजनाबद्ध रूपमा काम गरिरहेका छौँ ।’
कृषिलाई व्यवसायीकरण गर्दै कृषिलाई उद्योगका रूपमा विकास गरेर मात्र बिदेसिएका युवा शक्तिलाई रोक्न सकिने उनको भनाइ थियो । गण्डकीमा पर्यटनको आधारशिला तयार भइसके पनि यस क्षेत्रलाई व्यापक प्रवद्र्धन गरी थप चलायमान बनाउन सके अर्थतन्त्रमा वृद्धि हुन जानेमा उनले जोड दिए ।
‘पर्यटकीय राजधानी हुँदाहुँदै पनि विकासको मोडल के हो भन्ने थाहा छैन, टानका अध्यक्ष कृष्ण आचार्यले गुनासो गरे, ‘योजनालाई अक्षरश पालना र कार्यान्वयन कहिले हुन्छ ? सम्बनिधत निकायले कुरा मात्र गर्ने चाँसो नै नदिएर समुन्नत बन्छ त ?’
नेपाल आदिवासी जनाजाति महासंघ प्रदेश समन्वय समिति गण्डकीका अध्यक्ष धर्म तमुले आदिवासीलाई पाखा लगाएर प्रदेश समुन्नत हुन नसक्ने तर्क राखे । ‘गण्डकी प्रकृति र संस्कृतिमा धनि प्रदेश हो । हरेक तहमा समान सहभागिता हुनुपर्छ । के हामीलाई झाँकी र भेषभूषासहितको र्यालीका लागिमात्र हो डाक्ने ?’ उनले प्रश्न गरे ।