Skip to content

‘कस्मिरे पछ्यौरी’ पछि ‘रुकम मैकोट’ ग्लोबल ट्रेन्डिङमा

पोखरा ।

पछिल्लो समय नेपाली गीत सङ्गीतको बजार फराकिलो बन्दै गएको छ । अझै भनौ, अन्तर्राष्ट्रिय बजार सम्म नेपाली सङ्गीत पुगेको छ । युट्युब ट्रेन्डिङमा पर्ने गीतलाई व्यावसायिक रुपमा हिट मानिदै आइरहेको समयमा अहिले ग्लोबल ट्रेन्डिङसम्म नेपाली गीत सङ्गीत पुग्नु सुखद पक्ष लिन सकिन्छ ।

एक महिनाअघि युट्युबमा सार्वजानिक भएको हाल प्रदर्शनरत नेपाली फिल्म ‘खुस्मा’ मा समावेश गीत ‘रुकुम मैकोट’ ग्लोबल टे«न्डिमा आएको छ । यो गीत लगभग २ सातादेखि नेपालको म्युजिक सेक्सन अन्तर्गत ट्रेन्डिङको पहिलो नम्बरमै रहन सफल छ । यस गीतमा सयौं टिकटक, रिल्स र सर्टस् बनिसकेका छन् । युट्युबको म्यूजिक ग्लोबल चार्टमा यो गीत ७३ औं स्थानमा परेको छ । विश्वका विभिन्न देशबाट हेरिएपछि यो गीत ग्लोबल ट्रेन्डिङमा आएको हो । युट्युवले यो सूची आइतबार अपडेट गरेको हो ।

गीतको लोकप्रियतासँगै फिल्म ‘खुस्मा’को व्यापारमा फाइदा पु¥याएको छ । यो समाचार तयार पार्दासम्म एक करोड ४२ लाख ८९ हजार भन्दा बढी पटक हेरिएको छ । अभिनेता धीरज मगर र अभिनेत्री उपासना सिंह ठकुरीले नृत्य गरेको यस गीतमा एसडी योगीको सङ्गीत छ भने सुरेन्द्र रानाको शब्द तथा एसडी योगी र शान्तिश्री परियारको स्वर रहेको छ ।

‘कश्मिरे पछ्यौरी’पछि ‘रुकुम मैकोट’ युट्युवको ग्लोबल ट्रेन्डिङ पर्ने दोस्रो नेपाली गीत हो । ग्लोबल ट्रेन्डिङमा पर्ने नेपाली फिल्मको पहिलो गीत हो । ‘कस्मिरे पछ्यौरी’ गीत अहिले पनि ग्लोबल ट्रेन्डिङको ८२ औं स्थानमा रहेको छ । यो गीतलाई दुई करोड ६२ लाख भन्दा बढी पटक हेरिएको छ ।

आठ महिनाअघि रिलिज भएको नेपाली गीत ‘कश्मीरे पछ्यौरी’ युट्युबको ग्लोबल ट्रेन्डिङमा पर्ने सम्भवतः पहिलो नेपाली गीत बनेको छ । निश्चल दवाडीको शब्द तथा सङ्गीत रहेको यो गीतमा बाबुकृष्ण परियार र दीपिका बयम्बुको स्वर छ । युट्युबले ट्रेन्डिङमा परेका यी १०० गीतलाई पछिल्लो साता प्लाटफर्ममा सबैभन्दा लोकप्रिय गीतको वर्णानुक्रममा रहेको उल्लेख गरेको छ । यो गीत गत जनवरी १८ मा ‘बाबुकृष्ण परियार’ युट्युब च्यानलमा गीत रिलिज भएको थियो । गायक बाबुकृष्ण परियारले गीत सफल भएसँगै सामाजिक सञ्जाल फेसबुक मार्फत दर्शक श्रोतालाई धन्यवाद व्यक्त गरेका छन् ।

उनले लेखेका छन्, ‘‘प्रिय श्रोता, तपाईंहरूको मायाले हामीलाई, यो उचाइमा ल्यायो जहाँ हाम्रा सपनाहरू सजिए, तपाईंहरूको साथले हरेक दिनको सुरिलो, सङ्गीतमा सुनको चमक भरिए । कश्मीरे पछ्यौरीमा गुँदिएको भावना, तपाईंहरूले जसरी मनमा सजाउनु भयो, त्यो प्रेमको धारा अब बगिरहन्छ, र, हामीलाई ३८२ को शिखरमा पु¥याउनु भयो । धन्यवाद, तपाईंहरूको समर्थनले, हामीलाई अझ अगाडि बढ्न प्रेरित गरिरहन्छ । हाम्रो सङ्गीत सधैं तपाईंहरूको मुटुको नजिक रहिरहोस ।’’

 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Wordpress Social Share Plugin powered by Ultimatelysocial
0
Would love your thoughts, please comment.x
()
x