पोखरा ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल केन्द्रीय समितिको साधारण सभा यो पटक पोखरामा हुने भएको छ । असोज ११ र १२ गते पोखराको सभागृहमा हुने २४ औं केन्द्रीय वार्षिक साधारण सभा, विधान अधिवशेन तथा विविध साँस्कृतिक कार्यक्रम २०८१ को तयारी तिव्र गतिमा भइरहेको छ ।
केन्द्रीय वार्षिक साधारण सभाको सहआयोजकको रुपमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गण्डकी प्रदेश रहेको छ भने व्यवस्थापक जिल्ला कार्यसमिति कास्कीले गरेको छ । दुई दिनसम्म हुने साधारण सभा निकै भव्य र साँगीतिकमय हुने व्यवस्थापकको जिम्मा पाएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला कार्यसमिति कास्कीको अध्यक्ष तुलसा क्षेत्रीले बताइन् । उनले कार्यक्रमको अन्तिम तयारीमा जुटेको सुनाइन् ।
उक्त साधारण सभामा विभिन्न जिल्ला, प्रदेश र समन्वय समितिका प्रतिनिधिको सहभागी रहनेछ भने विदेशशाखाबाट पनि प्रतिनिधि आउने जनाइएको छ । साधारण सभाको सहआयोजक रहेको प्रतिष्ठान गण्डकीको कार्यवाहक अध्यक्ष माया गुरुङले देशभरका कलाकारको बाक्लो संख्यामा उपस्थिति रहने हुँदा तयारी तिब्र गतिमा भइरहेको बताइन् ।