पोखरा ।
पोखरा महानगरपालिकामा गत भदौ पहिलो सातायता डेंगु संक्रमण ६ गुणाले बढेको छ । भदौ पहिलो साता डेंगु संक्रमितको संख्या ७ सयको आसपास रहेकोमा महिनादिनमा बढेर ४ हजार ४ सय ३३ पुगेको हो । महानगरको स्वास्थ्य महाशाखाका अनुसार संक्रमितको उक्त कुल संख्या गत पुसयताको हो ।
महाशाखाका जनस्वास्थ्य निरीक्षक राजेन्द्र रेग्मीले संक्रमितको संख्या ३१ सय बढी पुग्न नदिइ डेंगु रोकथाम गर्ने लक्ष्य लिइएका उक्त लक्ष्य पूरा गर्न नसकिएको बताए । ‘पछिल्लो एक महिनामा डेंगु संक्रमण ह्वात्तै बढ्यो, यही अवस्था रहिरहे पाँच हजार बढीमा संक्रमण देखिन सक्छ’, उनले भने, ‘प्रत्येक व्यक्तिले सावधानी नअपनाएसम्म डेंगु रोकथाम चुनौतीपूर्ण छ ।’
गत वर्ष पोखरा महानगरमा ३ हजार ३ सय ७० जनामा डेंगु संक्रमण पुष्टि भएको थियो । कात्तिकसम्म संक्रमणको जोखिम रहने भएकाले यो वर्ष संक्रमितको संख्या अझै बढ्न सक्ने देखिएको जनस्वास्थ्य निरीक्षक रेग्मीले बताए । उनका अनुसार डेंगु संक्रमणबाट पोखरामा ३ जनाको मृत्यु भएको छ । पोखरा–५ की ५२ वर्षीया महिला, १२ का ४० वर्षीय र १० का ८० वर्षीय पुरुषको डेंगुका कारण मृत्यु भएको उनले जानकारी दिए । पोखरा वडा ५ र ८ लगायतका वडा डेंगुबाट बढी प्रभावित भएको स्वास्थ्य महाशाखाले जनाएको छ ।
स्वास्थ्य कार्यालय, कास्कीका प्रमुख रामबहादुर नेपालीले संक्रमण जटिल बनेर मानिसको मृत्युसमेत हुनसक्ने भएकाले डेंगु रोग सार्ने लामखुट्टेको टोकाइबाट बच्नु नै उक्त रोगबाट बच्ने उत्तम उपाय भएको बताए ।
प्रमुख नेपालीले असारदेखि कात्तिकसम्म डेंगुको संक्रमण बढी फैलने बताए । समयमा जोखिम न्यूनीकरण र नियन्त्रण गर्न नसके डेंगुले महामारीको रुप लिनसक्ने प्रमुख नेपालीले बताए । ‘डेंगुलाई सामान्य रुपले नसोचौँ, यसका अप्रिय उदाहरण हामीसँग छन्’, उनले भने, ‘डेंगु भइसकेपछि धेरै पीडा र दर्द हुन्छ, उपचार र हेरचाह पुगेन भने स्वास्थ्य अवस्था जटिल बन्दै गएर बिरामीको मृत्युसमेत हुनसक्छ ।’
एक महिनामा ६ गुणाले वृद्धि, ३ को मृत्यु, पोखरा वडा ५ र ८ लगायत वडामा बढी प्रभावित भएको स्वास्थ्य महाशाखाले जनाएको छ । डेंगु संक्रमणपछि बान्ता भइरहने, नाकबाट रगत आउने, कालो दिसा हुने, थकान जस्ता लक्षण देखिए चिकित्सकको विशेष निगरानीमा उपचार गर्नुपर्ने चिकित्सक बताउँछन् ।
डेंगु भएमा आराम गर्ने, पानीलगायत झोलिलो पदार्थ पिउने र जथाभावी औषधि सेवन गर्न नहुने उनीहरुको सुझाव छ । वृद्धवृद्धा, दीर्घरोगी, गर्भवती र बालबालिकामा डेंगुको संक्रमण भएमा स्वास्थ्यमा जटिलता निम्तन सक्ने खतरा हुने प्रमुख नेपालीले बताए । डेंगु सार्ने ‘एडिस एजिप्टाई’ जातको पोथी लामखुट्टे जमेको सफा पानीमा बस्ने हुँदा घर, कार्यालय र सार्वजनिकस्थलमा पानी जम्न दिन नहुने उनको भनाइ छ ।
डेंगुको भाइरस फैलाउने लामखुट्टे खाल्डाखुल्डी, पुराना टायर, भाँडाकुँडा, ड्रम आदिमा जम्मा भएको सफा पानीमा बस्ने हुँदा तिनलाई खाली गर्नुपर्ने प्रमुख नेपालीले बताए । कास्कीमा हालसम्म ४ हजार ५ सय ५२ जनामा डेंगु संक्रमण पुष्टि भएकामा पोखरा महानगरपालिकाबाहेक अन्नपूर्ण, रुपा र मादी गाउँपालिकामा ९÷९ जना र माछापुछ«े गाउँपापलिकामा ३८ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । –रासस