Skip to main content

Nidan Media

कोरलाबाट चार महिनामै भित्रिए सात हजार ईभी, सडक र चालक नहुँदा गन्तव्य पुग्नै मुस्किल!

काठमाडौँ। नेपाल–चीनको कोरलानाकाबाट विद्युतीय गाडी आयातले यस वर्ष रेकर्ड गति लिएको छ।

चालु आर्थिक वर्षको पहिलो चार महिनामै यो नाकाबाट सात हजारभन्दा बढी ईभी नेपाल भित्रिएका छन्। जबकि गत वर्षभरि जम्मा तीन हजार २२३ वटा मात्रै आयात भएका थिए।

रसुवागढी नाका बाढीका कारण बन्द भएपछि चीनबाट आउने विद्युतीय गाडीको मुख्य प्रवेशमार्ग कोरला बनेको हो। गत भदौ १० गते रसुवाको भोटेकोसीमा आएको बाढीले रसुवागढी नाका पूर्ण रूपमा बन्द गरेपछि आयातको चाप कोरलातर्फ बढेको हो।

मुस्ताङ भन्सार कार्यालयका अनुसार साउनमा एक सय, भदौमा एक हजार २५३ तथा असोज र कात्तिकमा पाँच हजार ६४७ वटा ईभी नेपाल भित्रिएका छन्।

तर समस्या गाडी आयातमा होइन, गन्तव्यसम्म पु¥याउनमा देखिएको छ। कोरला क्षेत्रको जोखिमपूर्ण सडकमा विद्युतीय गाडी चलाएर ल्याउन सहज छैन। त्यसमाथि दक्ष चालकको अभावले ढुवानी थप प्रभावित भएको छ। यही कारण भन्सार जाँचपास भइसकेका दर्जनौँ गाडीसमेत गन्तव्यतर्फ जान नपाएर बाटोमै रोकिएका छन्।

यता, कोरलानाकाबाट आयात बढेसँगै सरकारी राजस्वमा पनि उल्लेख्य वृद्धि भएको छ। चालु आर्थिक वर्षको पहिलो चार महिनामै मुस्ताङ भन्सारले १२ अर्ब ५५ करोड १४ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ। जबकि कार्यालयको वार्षिक लक्ष्य नौ अर्ब रुपैयाँ मात्रै थियो। अर्थात् चार महिनामै लक्ष्यभन्दा तीन अर्ब ५५ करोड रुपैयाँभन्दा बढी राजस्व उठिसकेको छ।

यस अवधिमा चीनबाट ३० अर्ब नौ करोड नौ लाख रुपैयाँ बराबरका सामान आयात भएका छन्। विद्युतीय गाडी, लत्ताकपडा, कस्मेटिक, इलेक्ट्रोनिक उपकरण, निर्माण सामग्री, फलफूल र खाद्यान्न प्रमुख आयातित वस्तु हुन्।

नेपालबाट भने २९ करोड ५२ लाख रुपैयाँभन्दा बढीका हस्तकलाका सामान र अन्य नेपाली उत्पादन चीनतर्फ निर्यात भएका छन्।

कोरलानाकाबाट व्यापार र राजस्व दुवै बढिरहेका छन्। तर आयात भएका गाडी नै सुरक्षित रूपमा गन्तव्यसम्म पुर्याउन नसक्ने अवस्था छ। यसले एउटा गम्भीर प्रश्न खडा गरेको छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.