काठमाडौँ। प्रधानमन्त्री बालेन्द्र शाह अर्थात् बालेन भोलिदेखि दुई दिने औपचारिक भारत भ्रमणमा जाँदैछन्। ३४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी भोलि दिउँसो पौने २ बजे नेपाल वायुसेवा निगमको नियमित उडानमार्फत नयाँ दिल्ली प्रस्थान गर्ने कार्यक्रम छ।
भारतीय पक्षले तयार पारेको कार्यतालिकाअनुसार दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री बालेनलाई भारत सरकारका वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसादले स्वागत गर्ने तयारी छ। अन्तिम समयमा कार्यतालिका परिवर्तन हुन सक्ने भए पनि हालसम्म राज्यमन्त्री प्रसाद नै स्वागतका लागि जाने तय भएको छ।
तर, बालेनको भारत भ्रमणमा स्वागत गर्ने अधिकारीको तहले नै विशेष चर्चा पाएको छ। कूटनीतिक अभ्यासमा विमानस्थलमा कुन तहका अधिकारी उपस्थित हुन्छन् भन्ने कुराले भ्रमणलाई दिइएको प्राथमिकता र महत्त्व झल्काउने मानिन्छ।
इतिहास हेर्दा सन् २००६ मा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई भारतीय प्रधानमन्त्री मनमोहन सिंहले विमानस्थलमै पुगेर स्वागत गरेका थिए। त्यसयता नेपाली प्रधानमन्त्रीलाई भारतीय प्रधानमन्त्रीले विमानस्थलमै स्वागत गरेको अर्को उदाहरण छैन।
प्रचण्ड, माधवकुमार नेपाल, बाबुराम भट्टराईदेखि शेरबहादुर देउवा र केपी शर्मा ओलीसम्मका भारत भ्रमणमा विभिन्न मन्त्री, राज्यमन्त्री तथा उच्च अधिकारीहरूले स्वागत गरेका थिए। सन् २०१६ मा ओलीको भ्रमणका क्रममा तत्कालीन विदेशमन्त्री सुषमा स्वराज विमानस्थल पुगेकी थिइन् भने सन् २०१८ मा गृहमन्त्री राजनाथ सिंहले स्वागत गरेका थिए।
२०८२ चैतमा प्रधानमन्त्री बनेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बालेनलाई भारत भ्रमणको निम्तो दिएका थिए। सुरुमा विदेश भ्रमण र कूटनीतिज्ञहरूसँगको भेटघाटमा दूरी कायम गरेका बालेनले पछि आफ्नो नीति परिवर्तन गर्दै भारत, चीन र अमेरिकाका राजदूतहरूसँग संवाद अघि बढाएका थिए।
गत भदौमा भोटेकोशीमा आएको बाढीपछि संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका पुगेका बालेनको यो पहिलो भारत भ्रमण हो।
नेपाल र भारत दुवै देशमा चासोका साथ हेरिएको यस भ्रमणमा दुई देशबीचको सम्बन्ध, सहकार्य र आगामी कूटनीतिक दिशा महत्त्वपूर्ण हुनेछन्। तर, प्रधानमन्त्री बालेनलाई भारतले कस्तो तहको स्वागत गर्छ? अहिले सबैको ध्यान एउटा प्रश्नमा पनि केन्द्रित छ।



