Skip to main content

Nidan Media

आइतबारदेखि वर्षा र हिमपातको सम्भावना, धान तत्काल भित्र्याउन आग्रह

काठमाडौँ। देशमा पश्चिमी वायुको प्रभाव विस्तारै बढ्दै जाँदा आइतबारदेखि सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा वर्षा र हिमपातको सम्भावना देखिएको छ। केही स्थानमा मेघगर्जन, चट्याङ र असिनासमेत पर्न सक्ने भएकाले काट्न बाँकी रहेको धानबाली सुरक्षित राख्न मौसमविद्ले सुझाव दिएका छन्।

जल तथा मौसम विज्ञान विभागकी मौसमविद् विभूति पोखरेलका अनुसार शुक्रबार र शनिबार देशभरको मौसम सामान्यतया सफा रहनेछ। यी दुई दिन पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा भए पनि ठूलो मौसमी परिवर्तनको सम्भावना छैन। तर आइतबारदेखि पश्चिमी वायुको प्रभावका कारण मौसममा परिवर्तन आउने अनुमान गरिएको छ।

आइतबार विशेषगरी सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा वर्षा हुने सम्भावना छ। यसको प्रभाव गण्डकी प्रदेशसम्म विस्तार हुन सक्ने मौसमविद् पोखरेलले बताइन्। बागमती र कोशी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा पनि छिटपुट वर्षा हुन सक्ने उनको भनाइ छ।

पोखरेलका अनुसार पश्चिमी वायुको प्रभावबाट हुने वर्षासँगै केही स्थानमा असिना, मेघगर्जन र चट्याङको सम्भावना पनि छ। यसले खेतमा रहेको धानबाली र काटेर सुकाउन राखिएको परालमा क्षति पुर्‍याउन सक्ने भएकाले किसानले सावधानी अपनाउनुपर्ने उनले बताइन्। धान र पराल सुरक्षित राख्न तथा मौसमको अवस्था हेरेर बाली भित्र्याउन उनको सुझाव छ।

हाल देखिएको मौसमी प्रणाली ठूलो र व्यापक प्रभाव पार्ने खालको नभएकाले भारी वर्षाको सम्भावना छैन। अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा र उच्च पहाडी तथा हिमाली भूभागमा मध्यमसम्म हिमपात हुन सक्ने मौसमविद् पोखरेलले जानकारी दिइन्। पश्चिमी न्यूनचापीय प्रणाली सक्रिय भएमा वर्षा र हिमपात हुन सक्ने भए पनि यस्तो प्रणाली सामान्यतया छिटो सर्ने भएकाले एक स्थानमा लामो समयसम्म प्रभाव नपार्ने उनको भनाइ छ।

हिउँदमा हुने वर्षा र हिमपातले हिउँदे बालीका लागि आवश्यक चिस्यान उपलब्ध गराउने भएकाले कृषि उत्पादनका दृष्टिले यसलाई सकारात्मक रूपमा पनि लिन सकिने पोखरेलले बताइन्। उनका अनुसार एल निनोको प्रभाव मनसुन र हिउँदमा फरक हुने भएकाले मनसुनमा कम वर्षा हुने अनुमानकै आधारमा हिउँद पनि सुक्खा हुन्छ भन्ने निष्कर्ष निकाल्न मिल्दैन।

यस वर्ष मनसुनका समयमा एल निनोको प्रभावका कारण कम वर्षा हुन सक्ने आकलन गरिए पनि नेपालमा अपेक्षाकृत नियमित वर्षा भएको उनले बताइन्। समग्र हिउँदमा कस्तो मौसमी अवस्था रहनेछ भन्नेबारे विभागले छुट्टै मौसमी आकलन सार्वजनिक गर्नेछ।

मौसमविद् पोखरेलले विभागले जारी गर्ने मौसम पूर्वानुमान तथा परामर्श नक्सा नियमित हेर्न र अद्यावधिक सूचनामा ध्यान दिन सर्वसाधारणलाई आग्रह गरेकी छन्। विशेषगरी पहेँलो सङ्केत भएका क्षेत्रका बासिन्दाले मौसमसम्बन्धी सूचनालाई गम्भीरतापूर्वक लिनुपर्ने उनको सुझाव छ।

समग्रमा आगामी मौसमी प्रणालीबाट ठूलो विपद्को जोखिम नदेखिए पनि कृषि क्षेत्रमा हुन सक्ने क्षतिप्रति सतर्क रहनुपर्ने देखिएको छ। विशेषगरी धान काट्न बाँकी रहेका किसानले मौसमको पूर्वानुमान हेरेर बाली भित्र्याउने तथा काटिसकेको धान र पराल सुरक्षित राख्ने तयारी गर्नुपर्नेछ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.