काठमाडौँ। सिन्धुलीको फिक्कल गाउँपालिका-६, नागथानस्थित मध्यपहाडी लोकमार्गमा टाटासुमो दुर्घटना हुँदा तीन महिलाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन्। दुर्घटनामा चालकसहित चार जना घाइते भएका छन्।
आइतबार बिहान को.१ ज २९७६ नम्बरको सुमो सडकबाट करिब दुई सय मिटर तल सुनकोशी नदीमा खसेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक विजय श्रेष्ठका अनुसार दुर्घटनास्थलबाट तीन महिलाको शव फेला परेको छ। मृतकहरूको पहिचान भने खुल्न बाँकी छ।
दुर्घटनामा ओखलढुंगाका २९ वर्षीय चालक आशिष विष्ट, खोटाङकी ३८ वर्षीया सम्झना राई, उनकी १२ वर्षीया छोरी सिवानी र १३ वर्षीय अंकित विक घाइते भएका छन्। घाइतेमध्ये सम्झना राईको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। उनीहरू सबैको उदयपुरको घुर्मीस्थित जनसेवा हेल्थ सेन्टरमा उपचार भइरहेको छ।
चालकको भनाइअनुसार दुर्घटनापछि थप तीन जना सुनकोशी नदीमा बेपत्ता भएका छन्। उनीहरूको खोजी तथा उद्धारका लागि इलाका प्रहरी कार्यालय खुर्कोटबाट प्रहरी टोली परिचालन गरिएको छ। बेपत्ताहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।




