पोखरा। सरकारी सेना र हुथी विद्रोहीबीच द्वन्द्व चर्किँदा दक्षिणी तथा दक्षिणपश्चिमी क्षेत्रमा भएका झडप र हवाई आक्रमणमा कम्तीमा छ जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन्।
लाहिज प्रान्तको एक सार्वजनिक बजारमा हुथी विद्रोहीले दुईवटा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गर्दा एक जनाको मृत्यु र १० जना घाइते भएको सरकारी सेनाका अधिकारीले बताएका छन्।
त्यस्तै, ताइज सहरको उत्तरी क्षेत्रमा रहेको जुत्ता कारखानामा भएको हवाई आक्रमणमा तीन जनाको मृत्यु र आठ जना घाइते भएको हुथी सञ्चारमाध्यम अल मसिराहले जनाएको छ।
ताइजकै अश शामायतायन जिल्लामा भएको अर्को आक्रमणमा दुई जनाको मृत्यु र पाँच जना घाइते भएका छन्।
यसैबीच, हुथी सैन्य प्रवक्ता याह्या सरियाले साउदी अरबमाथि कुनै आक्रमण नगरेको र मक्कालाई लक्षित गरेको आरोप अस्वीकार गरेका छन्।
सन् २०१४ देखि जारी यमन द्वन्द्वमा साउदी नेतृत्वको गठबन्धनले सरकारी सेनालाई समर्थन गर्दै आएको छ।




