काठमाडौँ । देशमा पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको आंशिक प्रभाव रहेकाले सोमबार पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार दिउँसो देशका हिमाली र पहाडी भूभागमा आंशिक बदली रहनेछ भने तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ।
कर्णाली प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका थोरै स्थानमा तथा कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।
सोमबार राति हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ भने पहाडी र तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने अनुमान छ। तराईका केही स्थानमा बिहानपख हुस्सु लाग्न सक्नेछ।
राति गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।





