काठमाडौँ । रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा अविरल वर्षासँगै गएको पहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या १० पुगेको छ।
पहिरोले स्थानीयका घर तथा गोठ पूर्ण रूपमा पुरिँदा दुई जना घाइते भएका छन् भने तीन जना अझै बेपत्ता रहेको नेपाल प्रहरीले जनाएको छ।
पहिरोमा परी गम्भीर घाइते भएका २२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय सञ्जय घर्ती मगरलाई प्राथमिक उपचारपछि थप उपचारका लागि बुटवल पठाइएको छ। बेपत्ता हुनेमा ९ वर्षीय अशिम पुन मगर, ८० वर्षीय अजम्बर पुन मगर र ७२ वर्षीय लिलबहादुर पुन मगर छन्। उनीहरूको खोजी कार्य जिल्ला प्रहरी कार्यालय रोल्पाको समन्वयमा जारी छ।
थबाङमै पहिरोमा परी मृत्यु हुनेमा १८ वर्षीया शान्ति पुन मगर, ६० वर्षीय कमलबहादुर पुन मगर, ८० वर्षीया मनखना पुन मगर, ७५ वर्षीय दलबहादुर पुन मगर र ८५ वर्षीया हस्तकला रोका मगर रहेका छन्।
यसैगरी, पहिरोले बगाएर छिमेकी जिल्ला प्युठानतर्फ पुगेका अवस्थामा मृत फेला पर्नेमा थबाङ–५ का ७ वर्षीय अशोक पुन मगर, ३४ वर्षीय महेन्द्र घर्ती, ६६ वर्षीय मनि पुन मगर, ३४ वर्षीया विष्णु भन्ने जुनकुमारी पुन मगर र ८० वर्षीय बलबहादुर पुन मगर रहेका छन्।




