काठमाडौँ। सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-८ मानेश्वरामा ढुङ्गा बोकेको टिपर पल्टिँदा एक जनाको मृत्यु भएको छ।
बुधबार साँझ करिब ६ः५० बजे मानेश्वरबाट बाह्रबिसेतर्फ आउँदै गरेको बा ५ ख ४११० नम्बरको ढुङ्गा लोड गरिएको टिपर अनियन्त्रित भई दुर्घटना भएको हो।
काभ्रेको पाँचखाल नगरपालिका-१३ का २५ वर्षीय अनिश पाण्डेले चलाएको टिपरमा बाह्रबिसे नगरपालिका-८ का २९ वर्षीय राजु लामा पनि सवार थिए।
टिपर अनियन्त्रित भएपछि लामा सडकको छेउतर्फ हाम फालेका थिए। सोही क्रममा टिपर पल्टिँदा उनी च्यापिएका थिए।
घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय बाह्रबिसेबाट प्रहरी निरीक्षकको कमान्डमा टोली घटनास्थल पुगेको थियो।
प्रहरीले उद्धार गरी लामालाई उपचारका लागि नगर अस्पताल बाह्रबिसे पठाएको थियो। तर उपचारकै क्रममा साँझ ७ः४५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
प्रहरीले आवश्यक कानूनी प्रक्रिया पूरा गरी शवको पोस्टमार्टमपछि मृतकका बुवा हिराबहादुर तामाङलाई जिम्मा लगाएको छ।
दुर्घटनामा संलग्न टिपर चालक अनिश पाण्डेलाई प्रहरीले नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।





