काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बस्ने भएको छ।
संघीय संसद् सचिवालयका अनुसार बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘अर्थसम्बन्धी केही नेपाल कानूनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
यस्तै, सभामुख डीपी अर्यालले प्रतिनिधि सभाका पूर्वसदस्य तथा संविधानसभा सदस्य गोपालमान श्रेष्ठको निधनप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोक प्रस्ताव प्रस्तुत गर्नेछन्।
यसअघि सरकारले विभिन्न नौ ओटा विधेयक संघीय संसद्मा पेस गर्न स्वीकृति प्रदान गरिसकेको छ। प्रतिनिधि सभाको अघिल्लो बैठक असार ३१ गते बसेको थियो।
यसैबीच सीमा विवादबारे प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को जवाफ मागेर विपक्षी दलहरूले प्रतिनिधिसभामा विरोध जारी राख्ने भएका छन् ।
बैठक सुरु भए लगत्तै ढ्याप ढ्याप गरेर समय लिएर आफ्नो कुरा राख्ने विपक्षीको तयारी रहेको बताइन्छ ।





