Nidan Media

मुगुमा पहिरोमा पुरिएर छोराको मृत्यु, बाबुआमा घाइते

काठमाडौँ। मुगुको मुगुम कार्मारोङ गाउँपालिका-५ पुलु बजारमा शनिबार बिहान खसेको पहिरोमा परी एक तीन वर्षीय बालकको मृत्यु भएको छ भने उनका बाबुआमा घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार शनिबार बिहान करिब ४ बजे पुलु बजारस्थित पेमा लामाको घरमा भाडामा होटल सञ्चालन गर्दै बसिरहेका छायाँनाथ रारा नगरपालिका-१३ तिर्प निवासी ३२ वर्षीय जगनाथ बडुवाल, उनकी २७ वर्षीया श्रीमती सृजना बडुवाल र तीन वर्षीय छोरा रमेश बडुवाल सुतिरहेका बेला माथिबाट ढुङ्गासहितको पहिरो खसेको हो।

घटनामा सामान्य घाइते भएका जगनाथ र सृजना उपचारका लागि आफैँ पुलु स्वास्थ्य चौकी पुगेका थिए। उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

पहिरोमा च्यापिएका बालक रमेश बडुवाललाई प्रहरी र स्थानीयवासीले उद्धार गरी पुलु स्वास्थ्य चौकी पुर्‍याएका थिए। उपचारकै क्रममा बिहान ५ः४५ बजे चिकित्सकले उनको मृत्यु भएको पुष्टि गरेका हुन्।

पहिरोका कारण उनीहरू बस्दै आएको घर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। घटनास्थल आसपासका थप आठ वटा घर पनि उच्च जोखिममा परेका छन्।

जोखिममा रहेका स्थानीयवासीलाई सुरक्षित स्थानमा सारिएको छ भने उनीहरूलाई पुलु बजारस्थित आफन्तको घर तथा स्वास्थ्य चौकीमा अस्थायी रूपमा आश्रय दिइएको प्रहरीले जनाएको छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.