Nidan Media

देशभर मनसुन सक्रिय: ३५ जिल्ला उच्च जोखिममा, भारी वर्षाको चेतावनी

काठमाडौं । देशभर मनसुन थप सक्रिय बनेसँगै जल तथा मौसम विज्ञान विभागले ३५ जिल्लामा बाढीको उच्च जोखिम रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार नेपालभर मनसुनी वायुको प्रभाव कायम रहेको छ भने मनसुनको न्यून चापीय रेखा नेपालको तराई क्षेत्र नजिक सरेकाले देशभर व्यापक बदली र वर्षाको अवस्था बनेको छ।

पछिल्लो २४ घण्टामा मकवानपुरको मकवानपुरगढी क्षेत्रमा सबैभन्दा धेरै ११९.४ मिलिमिटर वर्षा मापन भएको छ। आगामी केही घण्टा तथा दिनभर कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका साथै मधेस प्रदेश र तराईका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

वर्षाका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य सेवा, पर्यटन, पर्वतारोहण तथा सडक र हवाई यातायात प्रभावित हुन सक्ने चेतावनी दिइएको छ।

महाशाखाले विशेषगरी कर्रा खोला, साम्री खोला र बकैया खोला लगायत साना नदी तथा खोलामा आकस्मिक बाढी आउन सक्ने भएकाले तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

यसअघि नै मोरङसहित देशका ३५ जिल्लामा बाढीको उच्च जोखिम रहेको भन्दै सम्बन्धित स्थानीय तह, सुरक्षा निकाय र सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन विभागले सूचना जारी गरिसकेको छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.