काठमाडौं । चितवनको भरतपुर महानगरपालिका-२३ बेलहट्टामा जंगली हात्तीको आक्रमणबाट एकै परिवारका आमा-छोराको मृत्यु भएपछि वर्षौंदेखि दोहोरिँदै आएको मानव-वन्यजन्तु द्वन्द्व फेरि चर्चामा आएको छ।
शनिबार राति घरमै सुतिरहेका २१ वर्षीया आशिका बोटे र उनका चार वर्षीय छोरा भरत बोटेको हात्तीको आक्रमणबाट घटनास्थलमै मृत्यु भएको हो।
चितवन जिल्ला प्रहरी कार्यालयका अनुसार राति करिब ११ बजे घरमा पसेको जंगली हात्तीले दुवै जनामाथि आक्रमण गरेको थियो।
घटनाका क्रममा हात्ती धपाउन खोज्दा आशिकाका श्रीमान् पूर्ण बोटेले आगो बाल्ने प्रयास गर्दा कच्ची घरमा आगलागी भएको थियो। नेपाली सेना, प्रहरी र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो।
घटनाले चितवन क्षेत्रमा वर्षौंदेखि आतंक मच्चाउँदै आएको ‘ध्रुवे’ नामले परिचित जंगली हात्तीको जोखिमलाई पुनः उजागर गरेको छ।
चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार २०६६ सालयता ‘ध्रुवे’को आक्रमणबाट मात्रै २५ जनाले ज्यान गुमाइसकेका छन्। २०७४ सालमा नेपाली सेनाका एक मेजर पनि यही हात्तीको आक्रमणमा परेका थिए।
०६९ सालमा लगातार मानवीय क्षति भएपछि ‘ध्रुवे’लाई नियन्त्रण वा मार्ने आदेशसमेत जारी भएको थियो। गोली प्रहार गरिए पनि हात्ती जीवित बच्यो र केही वर्ष शान्त रहेपछि पुनः आक्रमणका घटना दोहोरिन थालेका हुन्।
मानवीय क्षतिमात्र होइन, ‘ध्रुवे’ले घर, अन्नबाली र अन्य सम्पत्तिमा पनि निरन्तर क्षति पुर्याउँदै आएको छ।
संसददेखि स्थानीय तहसम्म पटक-पटक यो विषय उठे पनि दीर्घकालीन समाधान अझै ननिस्किएको स्थानीयको गुनासो छ।
वन्यजन्तुको संरक्षणसँगै मानव जीवनको सुरक्षा सुनिश्चित गर्ने प्रभावकारी नीति, हात्तीको आवतजावत नियन्त्रण, जोखिमयुक्त बस्तीमा सुरक्षात्मक पूर्वाधार तथा प्रभावित परिवारको संरक्षणका उपाय प्रभावकारी रूपमा लागू गर्न नसक्दा चितवनका स्थानीय अझै त्रासमै बाँच्न बाध्य छन्।
पछिल्लो घटनाले मानव-हात्ती द्वन्द्व नियन्त्रणमा सरकारी तयारी र दीर्घकालीन रणनीतिमाथि पुनः गम्भीर प्रश्न खडा गरेको छ।




