काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका सांसद प्रमेश हमालले फिफा विश्वकप फुटबलको प्रत्यक्ष प्रशारण आम नागरिकको पहुँचमा सहज बनाउन सरकारको ध्यानाकर्षण गराएका छन्।
विश्वकप हेर्न दर्शकले ९९९ रुपैयाँ शुल्क तिर्नुपर्ने व्यवस्थाप्रति असन्तुष्टि जनाउँदै उनले खेल सबै नेपालीले निःशुल्क हेर्न पाउने वातावरण बनाउन माग गरेका हुन्।
मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद हमालले विश्वकप कुनै सीमित वर्गको मनोरञ्जन नभई आम जनताको साझा चासो र भावनासँग जोडिएको प्रतियोगिता भएको बताए। तर महँगो शुल्कका कारण धेरै नागरिक खेल हेर्नबाट वञ्चित हुनुपरेको उनको भनाइ थियो।
‘विश्वकपमा अहिले सबैको चासो छ। मेरो पनि चासो छ, तर हेर्न ९९९ रुपैयाँ तिर्नुपर्छ, जुन सबैको पहुँचमा छैन,’ उनले भने, ‘अब त पुग्यो होला नि, कमसेकम आम्दानी उठिसक्यो होला। त्यसैले सभामुखमार्फत नेपाल सरकारसँग आग्रह गर्छु, नेपाल टेलिभिजनमार्फत विश्वकपका खेल निःशुल्क प्रशारण गर्ने व्यवस्था मिलाइयोस् र सेवा प्रदायकलाई पनि यस विषयमा आवश्यक पहल गरियोस्।’
हमालले विश्वकपजस्तो अन्तर्राष्ट्रिय प्रतियोगिताको प्रशारणलाई व्यावसायिक लाभभन्दा पनि आम नागरिकको पहुँच र मनोरञ्जनसँग जोडेर हेर्नुपर्ने धारणा राखे।
उनले सरकारले सार्वजनिक प्रसारण संस्थामार्फत खेलकुदजस्ता विश्वव्यापी प्रतियोगिता सबै नागरिकले सहज रूपमा हेर्न पाउने व्यवस्था गर्नुपर्नेमा जोड दिए।
विश्वकप प्रशारणको शुल्कलाई लिएर सामाजिक सञ्जालदेखि सार्वजनिक बहससम्म व्यापक चर्चा भइरहेका बेला सांसद हमालले संसदमै यो विषय उठाउँदै सरकारको ध्यानाकर्षण गराएका हुन्।




