काठमाडौँ । चेक गणतन्त्रले फिफा विश्वकप-२०२६ अन्तर्गत समूह ‘ए’ को खेलमा दक्षिण कोरियाविरुद्ध अग्रता बनाएको छ।
मेक्सिकोको ग्वाडालाहारास्थित एज्टाडियो अक्रोनमा शुक्रबार जारी खेलमा चेक गणतन्त्रका कप्तान लाडिस्लाभ क्रेज्चीले ५९औँ मिनेटमा हेडमार्फत गोल गर्दै टोलीलाई १-० को अग्रता दिलाएका हुन्।
दक्षिण कोरियाले खेलभर बलमाथि नियन्त्रण राख्दै लगातार आक्रमण बुने पनि त्यसलाई गोलमा परिणत गर्न सकेको छैन।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दक्षिण कोरिया आक्रामक रूपमा प्रस्तुत भएको थियो भने चेक गणतन्त्रले रक्षात्मक रणनीति अपनाउँदै अवसरको प्रतीक्षा गरेको थियो।
दोस्रो हाफमा सेट पिसबाट आएको अवसरलाई सदुपयोग गर्दै क्रेज्चीले निर्णायक गोल गरेपछि खेलको समीकरण बदलिएको हो।
समूह ‘ए’ को उद्घाटन खेलमा आयोजक मेक्सिकोले दक्षिण अफ्रिकालाई २-० ले पराजित गर्दै विजयी शुरूआत गरिसकेको छ।





