काठमाडौँ । सन् २०२६ एसियाली खेलकुद पुरुष टी-२० क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा हङकङले नेपालसामु १८९ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ।
सिंगापुरमा जारी फाइनलमा टस जितेर नेपालले पहिले बलिङ गर्ने निर्णय गरेको थियो। हङकङले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १८८ रन बनायो।
हङकङका लागि अन्शुमन रथले ४५ बलमा ६ चौका र ६ छक्काको मद्दतमा सर्वाधिक ८० रन बनाए। शाहिद वासिफले २८ बलमा ७ चौका र ३ छक्कासहित ५५ रनको आक्रामक इनिङ्स खेले। शिव माथुरले २६ रन जोडे भने कप्तान यासिम मुर्तजाले ९ रन बनाए।
नेपालका लागि शेर मल्ल सर्वाधिक सफल बलर बने। उनले ४ ओभरमा ३२ रन खर्चेर ४ विकेट लिए। करण केसीले ४ ओभरमा ४५ रन दिएर २ विकेट लिए भने सन्दीप लामिछानेले १ विकेट हात पारे। दीपेन्द्रसिंह ऐरीले ४ ओभरमा २८ रन खर्चिए पनि विकेट लिन सकेनन्। सोमपाल कामी विकेटविहीन रहे।
हङकङको इनिङ्समा अतिरिक्तबाट ६ रन थपिएको थियो। अन्तिमतिर हसन खान मोहम्मद २ र एहसान खान अविजित रहे।
अब उपाधि जित्न नेपालले निर्धारित २० ओभरमा १८९ रन बनाउनुपर्नेछ। लक्ष्य पूरा गर्न सके नेपालले सन् २०२६ एसियाली खेलकुद पुरुष क्रिकेट छनोट प्रतियोगिताको उपाधि आफ्नो नाममा पार्नेछ।




