काठमाडौं । आज देशभर विभिन्न जनचेतनामूलक कार्यक्रम गरी जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस मनाइँदैछ । प्रत्येक वर्ष जेठ २१ गते यो दिवस मनाउने गरिन्छ।
वि.सं. २०६३ साल जेठ २१ गते नेपाल सरकारले देशलाई ‘जातीय छुवाछुतमुक्त राष्ट्र’ घोषणा गरेको दिनको स्मरणमा यो दिवस मनाउन थालिएको हो। २०६८ सालदेखि यसलाई राष्ट्रिय दिवसका रूपमा मनाउने गरिएको छ।
नेपालको संविधानले जातीय भेदभाव तथा छुवाछुतविरुद्धको हकलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको छ भने जातीय तथा अन्य सामाजिक छुवाछुत र भेदभावलाई कानुनद्वारा दण्डनीय अपराधका रूपमा व्यवस्था गरिएको छ।
तर छुवाछुतमुक्त राष्ट्र घोषणा भएको १८ वर्ष बितिसक्दा पनि व्यवहारिक रूपमा जातीय विभेद र छुवाछुतका घटना पूर्ण रूपमा अन्त्य हुन नसकेको भन्दै सरोकारवालाहरूले चिन्ता व्यक्त गर्दै आएका छन्।
दिवसका अवसरमा सरकारी निकाय, नागरिक समाज, दलित अधिकारकर्मी तथा विभिन्न संघसंस्थाले समानता, सामाजिक न्याय र विभेदमुक्त समाज निर्माणको सन्देश प्रवाह गर्ने कार्यक्रम आयोजना गरेका छन्।





