पोखरा। पोखरा-१७ छोरेपाटनस्थित फुस्रे खोलामा पौडी खेल्ने क्रममा खोलामा डुबेर एक बालकको ज्यान गएको छ ।
मृत्यु हुनेमा १४ वर्षीय स्वहेन नेपाली रहेको बताइएको छ ।
बिहीबार दिउँसो करिब २ः२५ बजे खोलामा डुबेर बालक बेपत्ता भएको सूचना प्राप्त भएपछि सशस्त्र प्रहरी हेडक्वार्टर कालिका गण कास्कीबाट उद्धार टोली परिचालन गरिएको थियो ।
सशस्त्र प्रहरी निरीक्षक बिनोद पौडेलको कमाण्डमा १४ सदस्यीय गोताखोर टोली घटनास्थल पुगेको थियो ।
टोलीले खोजी गर्ने क्रममा करिब २० फिट गहिराइबाट नेपालीलाई अचेत अवस्थामा बाहिर निकालेको जनाएको छ ।
उनको उद्धारपछि उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको थियो ।
उपचारकै क्रममा साँझ ५ः०५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



