पोखरा। नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई मिलाएर अघि बढाउने, जोगाउने र समयमै अधिवेशन गराउने जिम्मेवारी आफ्नो भएको बताएका छन् ।
पोखरामा बिहीबार आयोजित प्रदेश र स्थानीय तह केन्द्रित प्रदेश स्तरीय भेला सभापति थापाले यस्तो बताएका हुन् ।
‘म अहिले जिम्मेवारीमा छु। पार्टी मिलाउनु पनि छ, जोगाउनु पनि छ, अगाडि बढाउनु पनि छ र अधिवेशन गराउनु पनि छ’, उनले भने।
उनले पार्टीलाई छिटो अघि बढाउँदै सबैलाई समेटेर लैजाने पनि बताए ।
उनले पार्टीका असन्तुष्ट नेताहरूको योगदानको सम्मान गर्ने स्पष्ट पारे।
सभापति थापाले भने, ‘उहाँहरूले मभन्दा धेरै वर्षदेखि पार्टीमा काम गर्नुभएको छ। उहाँहरूको योगदानको अवमूल्यन गर्ने मसँग कुनै अधिकार छैन । यो जिम्मेवारी अस्थायी हो ।’
विशेष महाधिवेशनमा भाग लिए वा नलिएको आधारमा पार्टीभित्र कसैलाई पनि भेदभाव नगरिने उनले बताए ।
यस्तो आधारमा कुनै पनि नेता वा कार्यकर्तालाई फरक व्यवहार नगर्ने स्पष्ट पारे ।
विशेष महाधिवेशनको प्रक्रिया सकिएको भन्दै अब सबैलाई एकताबद्ध भएर अघि बढ्नुपर्ने उनको भनाइ छ ।
थापाले भने, ‘को विशेष अधिवेशनमा आएको थियो, को आएको थिएन भन्ने आधारमा मैले पार्टी सभापतिको रूपमा कसैलाई फरक व्यवहार गरेँ भने त्यो ठूलो गल्ती हुन्छ। त्यो म गर्दिनँ ।’




