काठमाडौँ । नेपाली कांग्रेस संसदीय नेता भीष्मराज आङ्देम्बेले सुकुमवासी बस्ती हटाउने नाममा राज्यले ‘डोजर आतंक’ मच्चाइरहेको आरोप लगाएका छन्।
शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले अव्यवस्थित बस्ती हटाउने क्रममा बल प्रयोग गर्दा मानवीय क्षति समेत भएको दाबी गरे।
राज्य अभिभावकजस्तो हुनुपर्ने उल्लेख गर्दै उनले आतंकको पर्याय बन्न नहुनेमा जोड दिएका छन्।
आङ्देम्बेले डोजर प्रयोगका कारण विद्यालयहरू प्रभावित हुँदा सयौँ विद्यार्थीको भविष्य अन्योलमा परेको बताए।
उनले सरकारलाई मानवीय संवेदनशीलता अपनाउन र सुकुमवासी समस्या समाधानका लागि स्पष्ट नीति, प्रक्रिया तथा सहकार्य आवश्यक रहेको बताए।
उनले मुलुकलाई व्यवस्थित र सुन्दर बनाउने विषयमा आफ्नो दलको कुनै असहमति नरहेको स्पष्ट पार्दै विकासका नाममा विधि र प्रक्रिया मिच्न नहुने बताए।
लोकतान्त्रिक मूल्यअनुसार अघि बढ्न आग्रह गर्दै बल प्रयोगले नागरिकमा त्रास सिर्जना गर्ने र अन्ततः विद्रोह निम्त्याउन सक्ने चेतावनी दिए।
उनले सरकार संख्याको बलमा निर्णय थोपर्दै अघि बढिरहेको आरोप लगाए।
प्रतिपक्षले देखाएको सदाशयतालाई कमजोरी नठान्न चेतावनी दिँदै उनले संसदलाई बन्धक बनाउँदै अध्यादेशमार्फत शासन सञ्चालन गरिएको बताए।
आङ्देम्बेले नीति तथा कार्यक्रम र बजेटजस्ता महत्वपूर्ण विषयमा संसदमा खुला छलफल हुनुपर्नेमा जोड दिए।
उनले जनताको अभिमतमा भरोसा नगरी ‘चोर बाटो’बाट शासन चलाउँदा दिगो विकास र स्थायित्व सम्भव नहुने बताए।
सम्पत्ति शुद्धीकरणसम्बन्धी अध्यादेशप्रति टिप्पणी गर्दै उनले सबैको सम्पत्ति छानबिन हुनुपर्ने बताए।
हाल सरकारमा रहेका केही व्यक्तिहरूको अस्वाभाविक सम्पत्तिबारे समेत प्रश्न उठाउँदै पारदर्शिता आवश्यक रहेको उनले उल्लेख गरे।




