Nidan Media

एसपीपी र एमसीसी खारेज गर्न दुर्गा प्रसाईँको माग, हिन्दू राष्ट्र र राजसंस्था पुनःस्थापनामा जोड

काठमाडौँ । मेडिकल व्यवसायी तथा सामाजिक अभियन्ता दुर्गा प्रसाईँले वर्तमान सरकारसँग स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) र मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) खारेज गर्ने निर्णय गर्न आग्रह गरेका छन् ।

आइतबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रसाईँले एसपीपी र एमसीसी खारेज नगरेको भन्दै सरकारको आलोचना गरेका छन् ।

उनले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारको प्रसंग उल्लेख गर्दै वर्तमान सरकारलाई ती सम्झौता खारेज गर्न दबाब दिएका छन् ।

प्रसाईँले मन्त्रिपरिषद्बाट निर्णय गरेर हिन्दू राष्ट्र पुनःस्थापना गर्नसमेत माग गरेका छन् । ‘सरकारलाई के भन्छु भने मन्त्रिपरिषद्बाट निर्णय गरेर हिन्दू राज्य कायम गरियोस्, तपाईँहरूसँग बहुमत छ, निर्णय गर्नुस्,’ उनले भने ।

उनले राजसंस्था पुनःस्थापनाको मागसमेत अघि सारेका छन् । ‘हिन्दू राष्ट्र ल्याइदिनुस्, राजसंस्था ल्याइदिनुस् । यदि यस्तो निर्णय हुन्छ भने चुनाव नै आवश्यक पर्दैन, म सडकमा उभिन्छु,’ प्रसाईँले भनेका छन् ।

प्रसाईँले सर्वदलीय सरकार गठन गरी संविधान संशोधन गर्नुपर्ने धारणा पनि राखेका छन् । विवादित विषयहरू समाधान गरेर मात्र निर्वाचनमा जानुपर्ने उनको तर्क छ ।

‘पहिला संविधान संशोधन गरौँ, सर्वपक्षीय सरकार बनाऔँ, नमिलेका कुरा मिलाऔँ अनि मात्र चुनावमा जाऔँ भन्ने मेरो धारणा थियो,’ उनले भनेका छन्, ‘तर हतारमा चुनाव गराइयो ।’

हालको राजनीतिक अवस्थाप्रति असन्तुष्टि व्यक्त गर्दै उनले सरकारलाई जनताको अपेक्षाअनुसार निर्णय गर्न आग्रह गरेका छन् ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.