काठमाडौँ। मकवानपुरमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका-१४ नयाँबस्तीटोलकी ३५ वर्षीया सन्तोषी वाइवा छन्।
शनिबार बिहान ९ बजे घाँस काट्न जाने भन्दै घरबाट निस्किएकी उनी अबेरसम्म नफर्किएपछि परिवारजनले खोजी शुरू गरेका थिए ।
खोजतलासका क्रममा माइती घरदेखि करिब २०० मिटर दक्षिणतर्फ रहेको खहरे खोला नजिकको सिमलटार क्षेत्रको भिरबाट करिब ५०-६० मिटर तल गम्भीर घाइते अवस्थामा फेला परेकी थिइन् ।
घाइते अवस्थामा फेला परेपछि उनलाई तत्काल उपचारका लागि हेटौँडा अस्पताल लगिएको थियो ।
तर, दिउँसो १२ः४० बजे अस्पतालमा पुर्याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




