काठमाडौँ । अमेरिका-इरानबीच केही दिन युद्धबिराम र वार्ता हुने चर्चासँगै सुनचाँदीको बजार र शेयर बजारमा उत्साह देखिएको छ । योसँगै इन्धनको भाउमा भारी गिरावट आउने प्रक्षेपण भइरहेको छ ।
जसकाे प्रभावले नेपाली बजारमा बुधबार सुनचाँदीको भाउमा उछाल देखिएको छ । बुधबार एकै दिनमा सुनको भाउ तोलामा सात हजार दुई सय र चाँदीको दुई सय पाँच रुपैयाँ बढेको छ ।
मूल्य बढेसँगै बुधबार छापावाला सुन प्रतितोला दुई लाख ९९ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ ।
यसअघि मंगलबार सुनको भाउ प्रतितोला दुई लाख ९१ हजार आठ सय रुपैयाँ रहेको थियो।
यता, मंगलबार प्रतितोला चार हजार आठ सय २० रुपैयाँमा कारोबार भएको असली चाँदीको भाउ बुधबार बढेर पाँच हजार २५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
सुनचाँदीको मूल्य गत माघ १५ गते हालसम्मकै उच्च भएको थियो । सो दिन सुन प्रतितोला तीन लाख ३९ हजार तीन सय र चाँदी सात हजार पाँच सय पाँच रुपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढाव तथा माग-आपूर्तिको अवस्थाले स्थानीय बजारमा मूल्य घटबढ हुने गरेको गरेको छ।




