Nidan Media

राष्ट्र निर्माणमा एकजुट हुन जनप्रतिनिधिलाई राष्ट्रपति पौडेलको आह्वान

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल ले निर्वाचनमार्फत जनताले प्रकट गरेको स्वतन्त्रता, सामाजिक न्याय, सुशासन, विकास र मुलुकको समृद्धिका लागि जनप्रतिनिधिले एकजुट भएर काम गर्नुपर्ने दायित्व अब काँधमा आएको बताएका छन्।

निर्वाचन आयोगले बुधबार आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले लोकतान्त्रिक मत फरक हुन सक्ने भए पनि राष्ट्र निर्माणको साझा लक्ष्यमा सबै नेपालीको एउटै मत रहनेमा विश्वास व्यक्त गरे।

उनले संघीय लोकतान्त्रिक गणतन्त्रको लक्ष्य अनुसार जनताको जीवनस्तर उकासेर मुलुक समृद्ध बनाउने काममा सबैमा हार्दिक आह्वान पनि गरे।

राष्ट्रपति पौडेलले निर्वाचन आयोगले यसपटक मतदाता सहभागिता बढाउने, मितव्ययिता र पारदर्शिता कायम गर्ने, आचारसंहिताको प्रभावकारी कार्यान्वयन र हरित निर्वाचनको अवधारणा लागू गर्न उल्लेखनीय काम गरेको बताए। यसले निर्वाचनलाई कम खर्चिलो, निष्पक्ष, विश्वसनीय र वातावरणमैत्री बनाउन मद्दत पुगेको र अन्तर्राष्ट्रिय समूहबाट समेत प्रशंसा बटुल्न सफल भएको उनले उल्लेख गरे।

साथै राष्ट्रपति पौडेलले प्रतिनिधि सभा सदस्य निर्वाचनमा अहोरात्र खटेर सफलतापूर्वक काम गरेका सरकार, निर्वाचन आयोग, राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी र सबै सरोकारवालामा धन्यवाद व्यक्त गर्दै सम्पूर्ण देशवासीलाई पनि योगदानको कदर गरेको बताए।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.