काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गरेको छ। नयाँ मूल्य सोमबारदेखि लागू भएको छ।
अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेर आएको र इन्डियन आयल कर्पोरेसन (आईओसी) लाई तिर्नुपर्ने बक्यौता रकम बढ्दै गएको भन्दै निगमले आइतबार राति १२ बजेदेखि लागू हुने गरी इन्धनको मूल्य बढाएको हो।
निगमले सार्वजनिक गरेको नयाँ मूल्यसूची अनुसार पेट्रोलमा प्रतिलिटर १५ रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर १० रुपैयाँका दरले वृद्धि गरिएको छ। निगमले डिपो स्थल र भौगोलिक क्षेत्रलाई तीन वर्गमा विभाजन गरी फरक–फरक खुद्रा बिक्री मूल्य तोकेको छ ।
काठमाडौँ, पोखरा र दिपायल पर्ने तेस्रो वर्गमा अब पेट्रोलको खुद्रा बिक्री मूल्य प्रतिलिटर १७२ रुपैयाँ र डिजेल तथा मट्टितेलको १५२ रुपैयाँ पुगेको छ।
त्यसैगरी, सुर्खेत र दाङ पर्ने दोस्रो वर्गमा पेट्रोलको १७१ रुपैयाँ र डिजेलको १५१ रुपैयाँ कायम भएको छ। चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज पर्ने पहिलो वर्गमा भने पेट्रोल १६९ रुपैयाँ ५० पैसा र डिजेल १४९ रुपैयाँ ५० पैसामा बिक्री हुनेछ।
बढेर आएको मूल्य समायोजन नगर्दा आईओसीलाई भुक्तानी गर्न नसकिने र त्यसले देशको समग्र इन्धन आपूर्ति प्रणाली नै अवरुद्ध हुने जोखिम देखिएपछि बाध्यतावश यो निर्णय लिनुपरेको निगमले प्रस्ट पारेको छ।
सार्वजनिक सवारी र ढुवानीका साधनमा प्रयोग हुने डिजेलको मूल्य अत्यधिक बढाउँदा सर्वसाधारण र उपभोग्य वस्तुको बजारमा गम्भीर असर पर्ने भएकाले अधिकतम लचकता अपनाएर डिजेलमा कम मूल्य वृद्धि गरिएको निगमको भनाइ छ।
अन्तर्राष्ट्रिय बजारमा भएको मूल्य वृद्धिको सम्पूर्ण भार उपभोक्तामाथि मात्र नथोपरि केही रकम ‘मूल्य स्थिरीकरण कोष’बाट समेत व्यवस्थापन गरिएको छ।
यद्यपि, यति ठूलो मात्रामा मूल्य वृद्धि गर्दा समेत निगमलाई पाक्षिक (१५ दिनमा) करिब ३ अर्ब ९३ करोड रुपैयाँ घाटा हुने प्रक्षेपण विज्ञप्तिमा उल्लेख छ।
हालको विषम परिस्थितिका कारण बाध्य भएर मूल्य बढाउनुपरेको भन्दै निगमले यसबाट उपभोक्तामा पर्न जाने असुविधाप्रति आफू गम्भीर र सचेत रहेको जनाएको छ।
साथै, अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्नासाथ तत्काल नेपालमा पनि मूल्य घटाउने प्रतिबद्धता व्यक्त गर्दै निगमले यस चुनौतीपूर्ण अवस्थामा सबै उपभोक्ता तथा सरोकारवालाहरूसँग सहयोगको अपेक्षा गरेको छ।




