Nidan Media

भारत लगातार दोस्रोपटक टी-२० विश्वकप च्याम्पियन

काठमाडौं । भारतले आईसीसी टी-२० विश्वकप २०२६ को उपाधि जितेको छ । आइतबार भएको फाइनल खेलमा न्यूजिल्यान्डलाई पराजित गर्दै भारत लगातार दोस्रोपटक तथा समग्रमा तेस्रोपटक टी–२० विश्वकपको विजेता बनेको हो ।

भारतले यसअघि सन् २००७ मा पहिलो संस्करणको उपाधि जितेको थियो । त्यसपछि लामो समयपछि सन् २०२४ को विश्वकप जित्दै पुनः च्याम्पियन बनेको भारतले यसपटक २०२६ को संस्करण जितेर लगातार दोस्रो उपाधि हात पारेको हो । यससँगै भारतले आफ्नो उपाधि रक्षा गर्न पनि सफल भएको छ ।

अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा भएको फाइनल खेलमा भारतले न्यूजिल्यान्डलाई ९६ रनले पराजित गर्‍यो । भारतले दिएको २५६ रनको विशाल लक्ष्य पछ्याएको न्यूजिल्यान्ड १९ ओभरमा १५९ रनमै सबै विकेट गुमाएर समेटियो ।

न्युजिल्यान्डका लागि ओपनर टिम सिफर्टले सर्वाधिक ५२ रन बनाए । कप्तान मिचेल सान्टनरले ४३ रनको योगदान दिए । डारिल मिचेलले १७ रन बनाए भने अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।

भारतका बलरमध्ये जसप्रित बुमराहले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा १५ रन खर्चेर ४ विकेट लिए । अक्षर पटेलले ३ विकेट लिए । हार्दिक पाण्ड्या, वरुण चक्रवर्ती र अभिषेक शर्माले समान १–१ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ५ विकेट गुमाएर २५५ रनको विशाल योगफल तयार गरेको थियो । भारतका लागि सन्जु सामसनले ४६ बलमा ५ चौका र ८ छक्कासहित सर्वाधिक ८९ रन बनाए ।

इशान किशनले २५ बलमा ५४ रन जोडे भने अभिषेक शर्माले २१ बलमा ५२ रन बनाए । शिवम दुबेले ८ बलमा २६ रनको आक्रामक पारी खेलेका थिए ।

न्युजिल्यान्डका लागि जिमी निशामले ३ विकेट लिए । म्याट हेनरी र रचिन रविन्द्रले समान १–१ विकेट लिए ।

यस विश्वकपमा भारतले उत्कृष्ट प्रदर्शन गरेको थियो । सुपर–८ चरणमा दक्षिण अफ्रिकासँग मात्र हार बेहोरेको भारत त्यसबाहेकका सबै खेल जित्दै अन्ततः उपाधि जित्न सफल भयो ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.