काठमाडौँ। बिहीबार हुने प्रतिनिधि सभा निर्वाचनका लागि सोमबार राति १२ बजेदेखि निर्वाचन प्रचारप्रसार निषेध अर्थात् मौन अवधि शुरू हुने भएको छ । मतदानअघिको ४८ घण्टादेखि मतदान केन्द्र बन्द नहुन्जेलसम्म प्रचारप्रसार गर्न नपाइने व्यवस्था छ ।
आयोगका अनुसार यो अवधि मतदाताले कुनै दबाबबिनै स्वतन्त्र निर्णय गर्न पाउने महत्त्वपूर्ण समय हो। यस अवधिमा राजनीतिक दल, उम्मेद्वार, सञ्चारकर्मी, सञ्चारमाध्यम र मतदाताले आचारसंहिता कडाइका साथ पालना गर्नुपर्नेछ ।
आयोगले ४ गतेदेखि १८ गतेसम्म निर्वाचन प्रचारको समय तोकेको थियो । कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीका अनुसार मौन अवधिको उद्देश्य स्वच्छ प्रतिस्पर्धा कायम राख्नु र मतदातालाई शान्त वातावरणमा निर्णय गर्न दिने हो ।
विश्वभर नै मतदानअघि केही समय प्रचार रोक्ने अभ्यास रहेको उनले बताए। मौन अवधिका आचरण पालना भए निर्वाचनको स्वच्छता र निष्ठा बढ्ने आयोगको विश्वास छ ।
मौन अवधिमा कुनै पनि किसिमका सभा, सम्मेलन, छलफल, अन्तरक्रिया, कार्यशाला तथा गोष्ठी गर्न पाइँदैन । मतदान हुनुअघि ४८ घण्टा अगावै मतदान स्थल वरिपरि ३०० मिटर क्षेत्रमा राखिएका प्रचार सामग्री हटाउन आयोगले निर्देशन दिएको छ ।
राजनीतिक दल र उम्मेदवारले सामाजिक सञ्जालमा राखिएका विज्ञापन तथा प्रचार सामग्री पनि हटाउनुपर्नेछ । मौन अवधिमा सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट पक्ष वा विपक्षमा प्रचार सामग्री पोस्ट गरिएको पाइए कारबाही हुने चेतावनी आयोगले दिएको छ ।
आयोगका अनुसार निर्वाचन व्यवस्थापन र कर्मचारी खटनपटनका काम सकिएका छन् र मतदान अधिकृत मतदान केन्द्रमा पुगिसकेका छन् ।
आयोगका अनुसार मतदानका लागि आवश्यक सामग्री पनि सबै केन्द्रमा पुर्याइसकिएको छ । मौन अवधि मतदान शुरू हुनुभन्दा ४८ घण्टा अघिदेखि मतदान प्रक्रिया सम्पन्न नभएसम्म कायम रहनेछ । यस अवधिमा दल, उम्मेद्वार, कार्यकर्ता, शुभेच्छुक र शुभचिन्तकले कुनै पनि प्रचार गतिविधि नगर्नुपर्नेछ । झ्याल वा जस्केलाबाट हुने अनियमित गतिविधि भए प्रमाणसहित जानकारी दिन आयोगले आग्रह गरेको छ। मौन अवधिमा आचारसंहिता उल्लङ्घन भएको प्रमाणित भए उम्मेदवारी खारेजदेखि ६ वर्षसम्म कुनै निर्वाचन प्रक्रियामा सहभागी हुन नपाउने व्यवस्था लागू हुने आयोगले जनाएको छ ।
सामाजिक सञ्जाल दुरुपयोग गरी प्रचार भए त्यसको स्रोत पत्ता लगाएर कारबाही गरिने आयोगको भनाइ छ । गलत सूचना छुट्याएर नमान्न र शंका लागे आयोगलाई जानकारी दिन आग्रह गरिएको छ ।
मतदान केन्द्र वरिपरि शान्ति भंग गर्ने वा निर्वाचन वातावरण बिथोल्ने गतिविधि भए कानूनअनुसार कारबाही गरिनेछ । मौन अवधिमा सार्वजनिक भोजभतेर, जुलुस, नाचगान, प्रदर्शन, सभा तथा राजनीतिक विज्ञापन गर्न निषेध छ ।
आयोगले सबै सरोकारवालालाई मौन अवधिको आचारसंहिता कडाइका साथ पालना गर्न र मतदातालाई शान्त वातावरणमा निर्णय गर्न सहयोग गर्न अपिल गरेको छ ।




