काठमाडौँ । भारतले आईसीसी टी-२० विश्वकप २०२६ को सेमिफाइनलमा स्थान बनाएको छ।
आइतबार भएको सुपर ८ को अन्तिम खेलमा भारतले वेस्ट इन्डिजलाई ५ विकेटले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो।
भारतका लागि सन्जु सामसनको ५० बलमा अविजित ९७ रन बनाएर टोलीलाई जित दिलाए।
वेस्ट इन्डिजले दिएको १९६ रनको लक्ष्य भारतले १९.२ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो।
अन्तिम ओभरमा ७ रन आवश्यक हुँदा सामसनले छक्का र चौका प्रहार गर्दै खेलको भारतको पक्षमा पार्न सफल भए।
भारतका अन्य ब्याट्सम्यानमध्ये तिलक वर्माले २७, कप्तान सूर्यकुमार यादवले १८, र हार्दिक पान्ड्याले १७ रन बनाए।
वेस्ट इन्डिजका शमार जोसेफ र जेसन होल्डरले २-२ विकेट लिए भने अकिल होसेनले १ विकेट हात पारे।
पहिले ब्याटिङ गर्दै २० ओभरमा वेस्ट इन्डिजले ४ विकेट गुमाएर १९५ रन बनाएको थियो।
रस्टन चेसले ४० रन बनाएका थिए, जेसन होल्डर ३७ र रोभमन पावेल ३४ रनमा अविजित रहे।
११९–४ को स्थितिबाट होल्डर र पावेलले पाँचौं विकेटका लागि ७६ रनको साझेदारी गरे।
भारतका जसप्रित बुमराहले २ विकेट लिए भने हार्दिक पान्ड्या र वरुण चक्रवर्तीले १–१ विकेट लिए।
अब भारत फाइनल प्रवेशका लागि इंग्ल्यान्डसँग खेल्नेछ भने अर्को सेमिफाइनलमा दक्षिण अफ्रिका र न्युजिल्यान्ड भिड्नेछन्।




