Nidan Media

अबको राजनीति सम्झौता र संरक्षणको नभई जवाफदेहिता र पारदर्शिताको हुन्छ : गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पाँच वर्षभित्र भ्रष्टाचारमुक्त मुलुक बनाउने बताएका छन्।

काठमाडौँमा बिहीबार आयोजित ‘हाम्रो प्रतिज्ञा, तपाईँको प्रश्न’ शीर्षकको अन्तरक्रियामा सभापति थापाले यस्तो बताएका हुन्।

सभापति थापाले भ्रष्टाचार गर्नेमाथि निर्मम बन्ने संकेत गर्दै नेता र नाता दुवै नहेर्ने स्पष्ट पारे। थापाले अबको राजनीति सम्झौता र संरक्षणको नभई जवाफदेहिता र पारदर्शिताको हुने बताए ।

उनले भने, “हाम्रो पहिलो प्राथमिकता पाँच वर्षभित्र भ्रष्टाचारमुक्त नेपाल हो। यदि कसैले गल्ती गरेको छ भनेहाम्रै नेता किन नहोस्, नातेदार किन नहोस् – कसैले उन्मुक्ति पाउने छैन ।”

२०४७ साल यताका जुनसुकै पार्टीका नेताहरूमाथि भ्रष्टाचार छानबिन गर्ने भन्दै थापाले आफूहरू समेत दोषी देखिए कानूनको कठघरामा उभिन तयार रहेको उल्लेख गर्दै भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अपनाइने बताए।

जनक प्रतिज्ञा र भीष्म प्रतिज्ञा

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा आफूहरूले जानेरै घोषणा पत्र नल्याएको उनले बताए ।

निर्वाचनमा घोषणा र बाचा नगर्ने भन्दै थापाले भने, ‘निर्वाचनमा प्रतिज्ञा गर्छौँ । त्यो प्रतिज्ञाका विषय हिजो जनकपुरमा सार्वजनिक गरेका छौँ ।’

जनकपुरमा सार्वजनिक गरिएको प्रतिज्ञा जनक प्रतिज्ञा र भीष्म प्रतिज्ञा भएको उनले बताए ।

आफूहरू सत्तामा पुगे पनि नपुगे पनि त्यो प्रतिज्ञ पूरा गर्न लाग्ने उनले स्पष्ट पारे । पहिला पार्टीबाट भएका गल्तीलाई सच्याएर अघि बढ्ने उनको उद्घोष छ ।

सभापति थापाले प्रधानमन्त्री र मुख्यमन्त्रीको कार्यकाल तोक्नुपर्ने बताए ।

कांग्रेसको प्रतिज्ञा पत्रमा प्रधानमन्त्री र मुख्यमन्त्री दुई पटकमात्र बन्न पाउने व्यवस्था ल्याउने गरिएको छ।

उनले सङ्घ र प्रदेशमा मन्त्रालयको सङ्ख्या घटाउनेबारे प्रतिज्ञा पत्रमै उल्लेख गरेर अघि बढिएको स्पष्ट पारे।

थापाका अनुसार संघमा १६ र प्रदेशमा ६ मात्रै मन्त्रालय बनाउनुपर्ने बताए।

सत्तामा गठबन्धन भएमा मन्त्रालय थप्नेतर्फ कांग्रेस नलाग्ने सभापति थापाले स्पष्ट पारे।

उनले डिजिटल सार्वजनिक सेवा सात दिन, २४सै घण्टा र सेवामा ढिला सुस्ती भए नागरिकलाई क्षतिपूर्तिलगायतका व्यवस्था कांग्रेसले योजनाबद्ध रूपमा अगाडि सारेको बताए।

साथै उनले अब कार्यालय केन्द्रित होइन कि नागरिक केन्द्रित सेवा बनाउनुपर्ने बताए ।

उनले कुन काम कति समयमा सकिन्छ त्यो समयभित्र नै गर्नुपर्नेमा जोड दिए ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.