काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसका अवसरमा एक भिडियो सन्देश जारी गर्दै प्रजातन्त्र स्थापनाका लागि प्राण उत्सर्ग गर्ने ज्ञात-अज्ञात शहीदहरूप्रति उच्च सम्मानका साथ श्रद्धाञ्जली अर्पण गरेका छन्।
आफ्नो सन्देशमा उनले वर्तमान समयमा गरिबी र राजनीतिक अस्थिरता नै नेपालको मुख्य शत्रु रहेको धारणा व्यक्त गरेका छन्।
विगतका राजनीतिक आन्दोलन र सङ्घर्षहरूबाट प्राप्त परिवर्तनले देश र आम नागरिकको जीवनमा वास्तवमा कस्तो सुधार ल्यायो भन्नेबारे अब गम्भीर आत्मसमीक्षा गर्ने बेला आएको उनले उल्लेख गरेका छन्।
“अधिकार मात्र खोज्ने तर आफ्नो कर्तव्यको ख्याल नगर्ने प्रवृत्ति मौलाउँदै गएको छ,” पूर्वराजा शाहले भनेका छन्, “यस्तो अवस्थामा सबै सरोकारवालाहरूले गम्भीर भएर सोच्न आवश्यक छ।”
उनले समाजमा बढ्दै गएको नकारात्मकताप्रति चिन्ता व्यक्त गर्दै एउटा नेपालीले अर्को नेपालीलाई वैरी (शत्रु) ठान्ने संस्कृतिको अन्त्य हुनुपर्नेमा विशेष जोड दिएका छन्।
राष्ट्रिय एकता र मेलमिलापको आवश्यकता औँल्याउँदै उनले आपसी द्वेष त्यागेर देशको मूल समस्या समाधानमा केन्द्रित हुनुपर्ने सन्देश दिएका छन्।





