Nidan Media

जसरी पनि जनताको घरदैलोमा पुग्नू : अध्यक्ष ओली

झापा । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचन लक्षित गर्दै पार्टीका उम्मेद्वार र नेता-कार्यकर्तालाई जसरी पनि जनताको घरदैलोमा पुग्न निर्देशन दिएका छन् ।

ओलीले फागुन २१ गतेका लागि तय गरिएको निर्वाचन नजिकिँदै जाँदा पार्टीका मूल एजेन्डा स्पष्ट रूपमा जनतासम्म पुर्याउन सक्रिय हुन आग्रह गरेका हुन् ।

काठमाडौं फर्किने क्रममा बिर्तामोडस्थित होटल हेभनमा आयोजित छलफलमा अध्यक्ष ओलीले जनस्तरमा फैलिएका भ्रम चिर्न घर–घर पुगेर प्रत्यक्ष संवाद गर्नुपर्नेमा जोड दिए।

छलफलमा सहभागी झापा क्षेत्र नम्बर ४ निर्वाचन परिचालन कमिटीका संयोजक मनोज ताम्लीका अनुसार अध्यक्ष ओलीले परिणाममुखी ढंगले निर्वाचनमा खटिन निर्देशन दिएका हुन।

सबै नेता–कार्यकर्ता परिणाम निकाल्ने गरी अभियानमा लाग्नुपर्छ, ओलीको भनाइ उद्धृत गर्दै ताम्लीले भने, जनस्तरमा रहेका भ्रम हटाउन जनताको घरदैलोमै पुग्न उहाँको विशेष निर्देशन छ।

बैठकमा झापा जिल्लाका विभिन्न निर्वाचन क्षेत्रका उम्मेदवार तथा निर्वाचन परिचालन कमिटीका संयोजकहरूको सहभागिता रहेको थियो। सहभागीहरूले निर्वाचन तयारी र अभियानको प्रगतिबारे अध्यक्ष ओलीलाई जानकारी गराएका थिए।

उम्मेदवारहरूले सामाजिक सञ्जालमा देखिएजस्तो अन्य दलको पक्षमा जनमत नरहेको दाबी गर्दै प्रत्यक्ष भेटघाट र चुनावी कार्यक्रममा मतदाताबाट एमालेप्रति सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको बताएका छन्।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.