Nidan Media

कुशासन अन्त्य गरी संघीयताको प्रभावकारी कार्यान्वयन गर्ने गगन थापाको प्रतिबद्धता

काठमाडौँ। मधेसको भूमिबाट देश परिवर्तनको उद्घोष गर्दै नेपाली कांग्रेसका सभापति गगन थापाले कुशासन अन्त्य गरी संघीयताको प्रभावकारी कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन्।

जनकपुरमा आयोजित प्रतिज्ञा सभामा उनले मधेसलाई ज्ञान, शिक्षा र अवसरको केन्द्र बनाउने योजनासहित कांग्रेस अघि बढेको बताएका छन्।

थापाले नेपाली कांग्रेसको नेतृत्वमा देशलाई कुशासनमुक्त बनाउने संकल्प दोहोर्याए। उनले मधेसबाटै परिवर्तनको अभियान शुरू भएको स्पष्ट पारे।

थापाले मधेसले शिक्षा, स्वास्थ्य, विज्ञान तथा सूचना प्रविधिको क्षेत्रमा देशलाई नेतृत्व दिन सक्ने क्षमता राखेको उल्लेख गरे।
“मधेसको शिक्षा नभएको भए पहाडमा गणित राम्रो पढाइ हुँदैनथ्यो,” उनले भने, “तर आज यही मधेसको शिक्षा, स्वास्थ्य र विज्ञानको अवस्था कमजोर छ, जसलाई सुधार्न हामी आएका छौं।”

उनले किसान, विशेषगरी उखु किसानका समस्या, वातावरणीय चुनौती र खानेपानी संकट समाधानलाई प्राथमिकतामा राख्ने बताए।

युवाहरूलाई लक्षित गर्दै थापाले मधेसमा क्रिकेट एकेडेमी स्थापना गर्ने योजना सार्वजनिक गरे। उनले मधेसका युवाहरूले देखेको क्रिकेटको सपना साकार पार्न कांग्रेस प्रतिबद्ध रहेको बताए।

आफू ‘मधेसको बेटा’ बन्न आएको उल्लेख गर्दै उनले मधेसका ऐतिहासिक व्यक्तित्वहरूको योगदानको सम्मान गर्ने प्रतिबद्धता व्यक्त गरे। कांग्रेस अब नयाँ रूप र नयाँ प्रतिबद्धतासहित जनविश्वास जित्न आएको उनको भनाइ थियो।

“अब हामी मत मात्रै होइन, विश्वास लिन आएका छौं,” थापाले भने, “देशलाई सँगसँगै हिँडाउन र युवाहरूको साझा पार्टी बनाउन कांग्रेस तयार छ।”

गगन थापाले प्रश्न गर्दा भाद्र २३ गते राज्यको गोलीबाट मारिए जस्तोे अवस्था अब देशमा आउन नदिने प्रतिज्ञा गरे ।

उनले अब युवकले प्रश्न गर्न पाउने भन्दै कसैले सिंहदरबार जलाउन जानु नपर्ने धारणा राखे ।

उनले भने ,‘हामीले गरेको यो प्रतिज्ञा पूरा नहुँदा प्रश्न र आलोचना गर्न राम्रोसँग पाउँछ । अब प्रश्न गर्दा कुनै युवकले भदौ २३ मा राज्यको गोलीबाट मारिएको जस्तो मर्नुपर्दैन यो हाम्रो प्रतिज्ञा हो । कसैले सिंहदरबार जलाउन जानु पर्दैन यो हाम्रो प्रतिज्ञा हो । त्यस्तो नेपाल बनाउँछौँ ।’

उनले आगामी दिनमा प्रधानमन्त्री कुनै पनि भ्रष्टाचार काण्डमा नमुछिने वातावरण बनाउने दाबी गरे।

एउटा युवकले लाइसेन्स लिन जाँदा घुस दिनुपर्ने, कोही कसैले झुटा मुद्दाको सिकार हुनुपर्ने र हातमा फाइल बोकेर काठमाडौं धाउनुपर्ने जस्ता समस्याको अन्त्य गर्ने प्रतिज्ञा व्यक्त गरे ।

‘कानून ठूलोको लागि होइन् त्यो अध्याय अब समाप्त भयो । अब देशको प्रधानमन्त्री वा नेपाको कुनै ठूला व्यक्ति कुनै काण्डमा मुछिएको कुरा नहुने प्रतिज्ञा कांग्र्सले गर्छ । अब एउटा युवकले लाइसेन्स लिन जाँदा घुस दिनुपर्दैन । कोही कसैले झुटा मुद्दाको सिकार हनुपर्दै हातमा फाइल बोकेर काठमाडौं धाउनुपर्दै यो हाम्रो प्रतिज्ञा हो,’ उनले भने ।

उनले प्रतिज्ञा पत्रमा लेखिएका कुरा कांग्रेसको सभापतिदेखि वडा तहसम्मका एक एक सदस्यदले पाँच वर्षसम्म पालना गर्ने प्रतिबद्धता जनाए ।

‘यो राजा जनकको भूमिमा म घोषणा गर्न आएको छैन, प्रतिज्ञा गर्न आएको हुँ । आज म जे बोल्छु, प्रतिज्ञा पत्रमा जे लेखिएको छ त्यसको अक्षरस नेपाली कांग्रेसको सभापतिदेखि वडा तहसम्मका एक एक सदस्यदले पाँच वर्षसम्म पालना गर्नेछ,’ उनले भने ।

जस्तोसुकै असहज परिस्थिती भएपनि सरकारमा हुँदा होस् वा प्रतिपक्षमा हुँदा राजा जनकले झै कांग्रेसले आफ्नो प्रतिज्ञाबाट एक इन्च पनि आफूलाई पछि नसार्ने दाबी गरे ।

उनले सहकारीका ठगहरूलाई तह लगाउने मात्रै नभई मिटर ब्याज र लघुवित्तका ठगहरूलाई तह लगाउने र मधेशमा वैकल्पिक वित्तीय संरचना निर्माण गर्ने बताए ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.