Nidan Media

मत सर्वेक्षण गरी नतिजा सार्वजनिक गर्ने काम नगर्न निर्वाचन आयोगको अपील

काठमाडौँ। निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनअघि मत सर्वेक्षण गरी नतिजा सार्वजनिक नगर्न सञ्चारमाध्यमलाई आग्रह गरेका छन्।

मंगलबार काठमाडौंमा आयोजित मतदाता शिक्षा तथा निर्वाचन प्रचार-प्रसारका विषयमा सामाजिक सञ्जालका लोकप्रिय संघसंस्था तथा कलाकारहरूसँगको छलफल कार्यक्रममा बोल्दै उनले यस्तो आग्रह गरेका हुन्।

कार्यवाहक प्रमुख आयुक्त भण्डारीले मतदान हुनुअघि नै हार-जीतको अनुमान सार्वजनिक गर्दा मतदाताको स्वतन्त्र निर्णय प्रभावित हुन सक्ने र प्रतिस्पर्धाको वातावरणमा नकारात्मक असर पर्न सक्ने बताएका छन्।

“हालैका केही अभ्यासमा मतदानअघि नै मतदातासँगको कुराकानीका आधारमा हार-जीतको अनुमान गर्ने वा मत सर्वेक्षणको नतिजा सार्वजनिक गर्ने गरिएको छ। यसप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको छ,” उनले भने।

उनका अनुसार निर्वाचन आचार संहिता २०८२ले मतदाताको स्वतन्त्र निर्णयलाई दिग्भ्रमित पार्ने गतिविधि नगर्न स्पष्ट व्यवस्था गरेको छ।

निर्वाचनअघि नै अनुमानित नतिजा सार्वजनिक गर्दा उम्मेदवारहरू हतोत्साही हुने र निष्पक्ष प्रतिस्पर्धामा खलल पुग्ने जोखिम रहेको उनको भनाइ छ।

यसैगरी प्रविधिको तीव्र विकाससँगै आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रयोग गरी तयार गरिएका भ्रामक सामग्री सामाजिक सञ्जालमा प्रसारण नगर्न र नगराउन आयोगले सम्बन्धित सबै पक्षसँग सहयोगको अपेक्षा गरेको छ।

“प्रविधिले सूचना प्रवाह सहज बनाएको छ, तर यसको दुरुपयोगले निर्वाचनको निष्पक्षतालाई नै धराशायी बनाउन सक्छ,” भण्डारीले चेतावनी दिएका छन्।

उनले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्नु हरेक सरोकारवालाको दायित्व भएको उल्लेख गर्दै जिम्मेवार र मर्यादित अभ्यासमार्फत स्वच्छ, निष्पक्ष र विश्वसनीय निर्वाचन सुनिश्चित गर्न सबै पक्ष गम्भीर बन्नुपर्नेमा जोड दिएका छन्।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.