पोखरा। थोक व्यवसायी संघ कास्कीको आठौँ वार्षिक साधारणसभा पोखरामा सम्पन्न भएको छ।
कार्यक्रम उद्घाटन गर्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले व्यवसायीहरूबीच एकता, सहकार्य र नीतिगत सुधार हुनुपर्नेमा जोड दिए।
उनले वर्तमान आर्थिक चुनौती, बजारमा देखिएको सुस्तता र तरलता अभावजस्ता समस्यालाई समाधान गर्न निजी क्षेत्र र सरकारबीच समन्वय अपरिहार्य रहेको बताए।
साथै, स्थानीय उत्पादनको प्रवर्द्धन, कर प्रणालीलाई व्यवसायीमैत्री बनाउने र अनावश्यक प्रशासनिक झन्झट हटाउन सम्बन्धित निकायलाई आग्रह गरे।
कार्कीले कास्की जिल्लाका थोक व्यवसायीहरू आर्थिक चलायमानताको मुख्य आधार भएको उल्लेख गर्दै उद्योग-व्यवसायको संरक्षण र विस्तारका लागि साझा पहल आवश्यक रहेको धारणा राखे।
उनले संघ–संस्थाबीच सहकार्य बढाएर पोखराको व्यापारिक वातावरणलाई थप सुदृढ बनाउने प्रतिबद्धता जनाए ।
पोखरा चेम्बर अफ कमर्स कास्कीका अध्यक्ष उमराज बास्तोलाले थोक व्यवसायी समिति वस्तुगत संघमध्ये महत्वपूर्ण संस्था भएको बताए । उनले व्यवसायिक एकता, नीतिगत स्थिरता र बजार व्यवस्थापनको आवश्यकता रहेको बताए ।
हाल देखिएको आर्थिक सुस्तता, उपभोक्ता क्रयशक्तिमा आएको गिरावट तथा बैंकिङ क्षेत्रको तरलता चुनौतीले थोक तथा खुद्रा व्यापार प्रभावित भएको उल्लेख गरे।
यस्तो अवस्थामा व्यवसायीहरूबीच सहकार्य, लागत नियन्त्रण र गुणस्तरीय सेवामार्फत उपभोक्ताको विश्वास जोगाउनु अत्यन्त आवश्यक रहेको उनको भनाइ थियो।
उनले कास्कीका व्यवसायीहरूलाई संगठित र प्रविधिमैत्री बनाउँदै प्रतिस्पर्धात्मक बजारमा सक्षम बनाउन चेम्बर सधैं सहकार्य गर्न तयार रहेको प्रतिबद्धता जनाए ।
पोखरा उद्योग वाणिज्य संघका महासचिव शोभा गौतमले थोक व्यवसायी उत्पादक र उपभोक्ताबीचको सेतु भएकाले उद्योग वाणिज्य संघ सदैव साथमा रहेको बताइन् ।
संस्थाका अध्यक्ष उषा तिमिल्सिनाले प्रत्येक संघसंस्था समन्वय गरेर अघि बढ्नुपर्नेमा जोड दिइन्।
कार्यक्रममा समितिका सल्लाहकार तुलबहादुर थापा, सदस्य नारायणी दवाडीलगायतले बोलेका थिए।
समितिका अध्यक्ष तिमिल्सिनाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महासचिव शम्भुनाथ योगीले सञ्चालन गरेका थिए।
साधारण सभाले महासचिव योगी र कोषाध्यक्ष मोहन अधिकारीको प्रतिवेदन सर्वसम्मतले पारित गरेको छ।
कार्यक्रममा उत्कृष्ट व्यवसायी ओमश्री सिजन इम्पोरियमका सञ्चालक कृष्ण भण्डारी र एसईई उत्तीर्ण विद्यार्थीहरूलाई सम्मान गरिएको थियो।




