Nidan Media

‘फागुन २१ का लागि मेरो २१ दिन’ अभियान शुरू गर्दै कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै पार्टी सम्बद्ध नेता–कार्यकर्तालाई परिचालन गर्न ‘फागुन २१ का लागि मेरो २१ दिन’ अभियान शुरू गर्ने निर्णय गरेको छ।

आइतबार बसेको पार्टी केन्द्रीय कार्यसम्पादन समितिको भर्चुअल बैठकले निर्वाचन केन्द्रित अभियान सञ्चालन गर्ने निर्णय गरेको हो। सो निर्णयलाई ‘नेपाली कांग्रेस निर्वाचन परिचालन निर्देशिका–०८२’ को बुँदा नम्बर २१ मा समावेश गरिएको कांग्रेसले जनाएको छ।

निर्देशिकाअनुसार ‘फागुन २१ का लागि मेरो २१ दिन’ भन्ने प्रतिबद्धतासहित फागुन १ देखि २१ गतेसम्म पार्टीका सबै नेता–कार्यकर्ता चुनावी अभियानमा खटिनेछन्।

जसको पदीय जिम्मेवारी जहाँ तोकिएको छ, सोही स्थानमा खटिएर जिम्मेवारी पूरा गर्नुपर्ने उल्लेख गरिएको छ।

निर्णयमा केन्द्र, प्रदेश, जिल्ला र क्षेत्रबाट निश्चित जिम्मेवारीसहित तोकिएका प्रतिनिधिहरूले तोकिएको स्थानमा काम सम्पन्न गरेपछि पुनः आफ्नै जिल्ला, क्षेत्र, पालिका तथा वडामा केन्द्रित हुने उल्लेख छ।

तोकिएको जिम्मेवारी लिएर अन्यत्र नखटिएका पार्टीका पदाधिकारी तथा सदस्यहरूलाई आफ्नै क्षेत्र, पालिका र वडामा केन्द्रित रहन निर्देशन दिइएको छ।

यस्तै, एक वडाका क्रियाशील सदस्य अर्को वडामा नखटिने र ‘हाम्रो वडा हामी जिताउँछौँ’ भन्ने उद्घोषका साथ आफ्नै वडामा सक्रिय हुन कांग्रेसले भनेको छ।

कांग्रेसले पार्टीका सबै भ्रातृ तथा शुभेच्छुक संस्थामा आवद्ध सदस्यहरूलाई पनि सोहीअनुसार जिम्मेवारी निर्वाह गर्न आग्रह गरेको छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.