म्याग्दी । आगामी फागुन २१ गते आयोजित प्रतिनिधि सभा सदस्य (संसद) निर्वाचन नजिकिँदै गर्दा हिमाली जिल्ला म्याग्दीमा चुनावी माहोल दिनप्रतिदिन तातिँदै गएको छ।
एक निर्वाचन क्षेत्र भएकाले यहाँको चुनावी प्रतिस्पर्धा सधैँको तुलनामा यसपालि अझ रोचक बन्दै गएको छ। मुख्य कारण भनेको परम्परागत राजनीतिक दलहरूका साथै प्रभावशाली स्वतन्त्र उम्मेदवारको पनि मैदानमा सक्रिय उपस्थिति हो।
म्याग्दीमा मुख्य प्रतिस्पर्धा नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाली कम्युनिष्ट पार्टी र स्वतन्त्र उम्मेद्वारहरूमाझ हुने भएको छ। यसपटक सबैको ध्यान स्थानीय विकास, रोजगारी, शिक्षा-स्वास्थ्य सुधारजस्ता बुनियादी सामाजिक तथा आर्थिक मुद्दामा केन्द्रित रहेको देखिन्छ।
सबैभन्दा ठूलो राजनीतिक ‘तरङ्ग’ ल्याउने उम्मेद्वारका रूपमा डा. महावीर पुन को स्वतन्त्र पदयात्राले यहाँको चुनावी परिदृश्यलाई उल्लेखनीय रूपमा प्रभावित बनाएको छ।
उनी हालसम्म जारी राष्ट्रिय राजनीतिमा धेरैले अति चर्चित व्यक्तित्वका रूपमा चिनिरहेका छन् र आफ्नो उम्मेद्वारीले म्याग्दीको चुनावलाई मात्र होइन, समग्र हिमाली क्षेत्रको राजनीतिमा पनि नयाँ आयाम थप्ने सम्भावना उत्पन्न गरेको विश्लेषकहरू बताउँछन्।
पुनले शिक्षा, विज्ञान तथा प्रविधि मन्तरायलको राजीनामा दिएर म्याग्दीबाट आफ्नी उम्मेद्वारी दर्ता गराएका छन्। यसले परम्परागत दलहरूबाट छुट्टै विकल्प खोज्ने मतदातालाई एउटा नयाँ अप्शन दिएको छ र पार्टी-निर्भर वोटरहरूलाई दौडधुपमा ल्याएको विश्लेषण गरिएको छ।
रास्वपाले स्वतन्त्र उम्मेद्वार महावीरलाई सघाउने भन्दै उम्मेदवारी फिर्ता लिएको घोषणा गरे पनि पछिल्लो समय कुरा मिल्न नसकेपछि मत माग्न थालेको छ ।
दलहरू पनि निष्क्रिय छैनन्। नेपाली कांग्रेसका कर्णबहादुर भण्डारी ले विकास, समृद्धि, सुशासन, शिक्षा तथा स्वास्थ्य सुधारलाई आफ्नो मुख्य चुनावी एजेण्डा बनाएका छन् भने नेकपा (एमाले) का हरिकृष्ण श्रेष्ठ ले म्याग्दीको कृषि, पूर्वाधार, सडक तथा समग्र विकासलाई घोषणापत्रमा समेट्ने प्रतिबद्धता जनाएका छन्।
त्यस्तै नेकपा (माओवादी) का क्षेत्रबहादुर घिमिरेले भ्रष्ट्राचार निवारण, सुशासन र सामाजिक सेवा प्रवाहमा जोड दिएका छन्। उनका अनुसार, राज्यले शिक्षा-स्वास्थ्य सेवामा समग्र सुधार ल्याउनुपर्छ।
जिल्लामा मतदाता संख्या करिब ८६ हजार तीन सय ९७ पुगेको र ८२ मतदान स्थल तथा एक सय २० मतदान केन्द्रहरू तोकिएको निर्वाचन अधिकृतले बताएका छन्।
जिल्ला निर्वाचन सुरक्षा समितिले भौगोलिक अवस्था र सुरक्षाका हिसाबले १५ ओटा अति संवेदनशील, ५८ ओटा संवेदनशील र ८ ओटा मतदान स्थललाई समान्य भनेर बर्गीकरण गरेको छ ।
उम्मेदवारहरूको संख्या पनि १२ ओटा राजनीतिक दल र एक स्वतन्त्र गरी कुल १३ पुगेको छ, जसले चुनावी प्रतिस्पर्धालाई थप कडा बनाएको छ।
स्थानीय मतदाताबीच स्थानीय विकासका विषयमा अपेक्षा र चेतना उच्च हुँदै गएको देखिन्छ। मतदाताहरूले अब केवल ‘भोट माग्ने’ आश्वासनभन्दा बढी स्पष्ट प्रतिबद्धता र व्यवहार्य योजना चाहेको सामाजिक विश्लेषकहरू बताउँछन्। यसले उम्मेदवारहरूमाथि दबाब पनि सिर्जना गरेको छ कि उनीहरूले पार्टी घोषणापत्र तथा आफ्नै प्रतिवद्धतामा स्थानीय हित‘मुख्य प्राथमिकता’ बनाउनुपर्छ।
यसैबीच निर्वाचन आचार संहिताको पालना, सुरक्षा व्यवस्थाको मजबुती, र स्रोत सुविधाको व्यवस्थापनमा पनि सम्बन्धित निकायहरू सक्रिय देखिएका छन्। संघीय सरकारका श्रम तथा स्थानीय प्रशासनले मतदाता सुचना अभियान, मतदान सहयोग, तथा सुरक्षित मतदानका लागि पहल गरिरहेका छन्।
समग्रमा म्याग्दीको चुनाव सक्रिय प्रतिस्पर्धा र मतदाताबीच बढ्दो चेतनाले प्रभावित हुँदै छ। यसपटक मतदाताले स्थानीय मुद्दामा केन्द्रित उम्मेद्वार, स्पष्ट एजेण्डा र विश्वसनीय प्रतिबद्धतालाई प्राथमिकतामा राख्ने संकेत देखाइरहेका छन्।
एक नगरपालिकासहित छ ओटा स्थानीय तह रहेको म्याग्दीमा नेकपा एमालेले बेनी नगरपालिका, मंगला गाउँपालिका, मालिका गाउँपालिका र अन्नपूर्ण गाउँपालिका जितेको छ ।
कांग्रेसले धवलागिरी गाउँपालिका र रघुगङ्गा गाउँपालिका जितेको छ । कांग्रेससँग चुनावी गठबन्धन गरेर नेकपाले बेनी नगरपालिकामा उपप्रमुख, धवलागिरी गाउँपालिकाका उपाध्यक्ष जितेको थियो ।
२०७९ को निर्वाचनमा एमालेले पाएको समानुपातिक तर्फको मत हेर्दा जिल्लामा पहिलो शक्ति देखिन्छ । त्यस्तै कांग्रेस दोस्रो र हालको नेपाली कम्युनिष्ट पार्टी तेस्रो देखिन्छ । रास्वपा चौथो दल बनेको थियो ।
म्याग्दीमा अघिल्लो निर्वाचन २०७९ मा माओवादीसँगको गठबन्धन गरेर कांग्रेसका खमबहादुर गर्बुजा (खम्बिर) ले २४ हजार २१ मत प्राप्त गरेर विजयी भएका थिए । यसपटक नेकपाका तर्फबाट युवा नेता अर्जुन थापा चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।
यस्तै यसअघि २०६४ मा भएको संविधानसभा निर्वाचनमा नेकपा-माओवादीका गोविन्द पौडेल विजयी भएका थिए ।
यस्तै २०५६ को प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेसका नारायण सिंह पुन, २०५१ को प्रतिनिधि सभा निर्वाचनमा एमालेका नीलबहादुर तिलिजा विजयी भएका थिए ।




