बागलुङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा उम्मेद्वारहरूले मतदातालाई रिझाउन भ्याइनभ्याइ गरेका छन्।
बिहानैदेखि साँझसम्म मतदाताका घरदैलो र बारीसम्म पुगेर उनीहरूले मत मागिरहेका छन्।
पटक-पटक आश्वासन मात्र पाएका मतदाताले यसपटक उम्मेद्वारको एजेण्डा र प्रतिबद्धता खोज्न थालेका छन्।
काठेखोला गाउँपालिका-६ का कृष्णप्रसाद सापकोटाले किसानको उत्पादनलाई बजारसँग जोड्न सक्ने नेतालाई मात्रै भोट दिने बताए।
उनले भने, “हरेक वर्ष लाखौँको तरकारी र फलफूल उत्पादन हुन्छ, तर बजार अभावका कारण उचित मूल्य पाउँदैनौं।”
विसं २०४८ देखि निरन्तर मतदान गर्दै आएका कँडेलले अहिलेसम्म किसानका माग पूरा गर्ने नेता पाएका छैनन्।
उनले भने, “पहिले घरको काम छोडेर नेतालाई जिताउन हिँडियो, तर समस्या त्यहीँको त्यहीँ रह्यो। अब हामी केवल किसानका काम गर्ने नेतालाई मात्रै भोट दिनेछौं। समयमै बीउ, मल पाइँदैन, उत्पादनको मूल्य हुँदैन।”
बरेङ गाउँपालिका वडा नं १ का तमबहादुर थापाले गाउँको बसाइँसराइ रोक्न र उद्यमसँग जोड्न सक्ने उम्मेद्वार आवश्यक भएको बताए।
उनी भन्छन्, “गाउँमै कृषि र उद्यम गर्न सक्ने वातावरण नहुँदा युवाहरू विदेश पलायन र बसाइँसराइमा जान्छन्। अब हामीलाई केवल चिल्ला कुरा नभई स्पष्ट प्रतिबद्धता चाहिन्छ।”
बागलुङमा सबैभन्दा बढी बसाइँसराइ जैमिनी पालिकामा हुने गर्छ। त्यहाँका स्थानीय तोषिका विकले भनिन्, “गाउँमा लघु उद्यम, कृषि र राम्रो शिक्षाको सुविधा दिलाउन सक्ने उम्मेदवारलाई मात्र भोट दिने हो। अहिले गाउँमा सामान्य परिवारमात्र बाँचेका छन्।”




