Nidan Media

यूएईसँग आज अभ्यास खेल खेल्दै नेपाल

काठमाडौँ । आईसीसी विश्वकपको तयारीलाई तीव्र बनाउँदै नेपाली राष्ट्रिय क्रिकेट टोली मुम्बईमा दुई अभ्यास खेल सकेर चेन्नई पुगेको छ। विश्वकपअघि अन्तिम तयारीका लागि नेपालले चेन्नईमा दुईटा अभ्यास (वाम-अप) खेल खेल्नेछ।

नेपालले पहिलो अभ्यास खेल आज संयुक्त अरब इमिरेट्स (यूएई)सँग खेल्दैछ। नेपाल क्रिकेट संघ (क्यान)का अनुसार खेल साँझ ५ः१५ बजे चेन्नईस्थित एमए चिदम्बरम रङ्गशालामा हुनेछ। नेपाल र यूएईबीच लामो समयदेखि प्रतिस्पर्धात्मक क्रिकेट हुँदै आएको छ।

यस्तै, नेपालले दोस्रो अभ्यास खेल बिहीबार क्यानडासँग खेल्ने तालिका छ। दुवै अभ्यास खेल विश्वकप खेलिने एमए चिदम्बरम मैदानमै आयोजना हुँदैछन्, जसले टोलीलाई मैदान र परिस्थितिसँग अभ्यस्त हुन मद्दत पुग्ने विश्वास गरिएको छ।

नेपालले फेब्रुअरी ८ मा इङ्ल्यान्डसँग खेल्दै विश्वकप यात्रा शुरू गर्नेछ। नेपाल विश्वकपको समूह ‘सी’ मा परेको छ, जहाँ दुई पटकको विश्व विजेता वेस्ट इन्डिज, एक पटकको विजेता इङ्ल्यान्ड, स्कटल्यान्ड र इटाली रहेका छन्।

समूह चरणमा नेपालले फेब्रुअरी १२ मा इटाली, १५ मा वेस्ट इन्डिज र १७ मा स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ। समूह चरणका सबै खेल नेपालले मुम्बईमा खेल्नेछ।

नेपाली टोलीका सबै खेलका टिकट बिक्री भइसकेका छन्। यससँगै भारतीय मैदानमा नेपाली समर्थकको बाक्लो उपस्थिति र उत्साह देखिने अपेक्षा गरिएको छ।

नेपालले यसअघि सन् २०१४ र सन् २०२४ को विश्वकप खेलेको थियो। यो तेस्रो विश्वकप सहभागितालाई नेपाली क्रिकेटको निरन्तर प्रगतिका रूपमा हेरिएको छ।

विश्वकप खेल्ने नेपाली टोलीमा कप्तान रोहित पौडेल, उपकप्तान दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा, आरिफ शेख, बसिर अहमद, गुल्सन झा, ललित राजवंशी, शेर मल्ल र लोकेश बम रहेका छन्।

यस विश्वकपमा समूह ‘ए’ मा भारत, पाकिस्तान, अमेरिका, नेदरल्यान्ड्स र नामिबिया छन् भने समूह ‘बी’ मा अस्ट्रेलिया, श्रीलङ्का, जिम्बावे, आयरल्यान्ड र ओमान रहेका छन्। समूह ‘डी’ मा दक्षिण अफ्रिका, न्युजिल्यान्ड, अफगानिस्तान, क्यानडा र यूएई छन्। प्रत्येक समूहका शीर्ष दुई टोली सुपर आठमा प्रवेश गर्नेछ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.