Nidan Media

भारतमा विमान दुर्घटना हुँदा महाराष्ट्रका उपमुख्यमन्त्रीसहित पाँच जनाको मृत्यु

पोखरा । भारतको महाराष्ट्र राज्यको पुणे जिल्लास्थित बारामतिमा जहाज दुर्घटना हुँदा उपमुख्यमन्त्री तथा नेश्नलिस्ट कंग्रेस पार्टी (एनसीपी) का अध्यक्ष अजित पवारसहित पाँच जनाको ज्यान गएको छ ।

दुर्घटनामा परेका अजित पवारसहित विमानमा सवार सबैको मृत्यु भएको पुष्टि भएको बताइएको छ। विमानमा पवारका दुई जना सुरक्षाकर्मी र दुई जना पाइलट सवार थिए।

भीटी एसएसकेको लियरजेट ४५ विमान आज बिहान ८ बजेर ४८ मिनेटमा बारामति विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटनामा परेको हो।

अवतरणका क्रममा विमान चिप्लिएर धावनमार्गबाट बाहिर पुगेको र त्यसपछि आगलागी भएको भारतीय सञ्चारमाध्यम हिन्दूस्तान टाइम्सले जनाएको छ ।

दुर्घटनापछि उद्धारकर्मीहरू तत्काल घटनास्थलमा परिचालन गरिएका थिए। तर उद्धारका क्रममा कोही पनि जीवित नभेटिएको भारतको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

घटनापछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहले महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडनविससँग फोन गरेर घटनाबारे जानकारी लिएका छन्।

अजित पवार आफ्नो गृहजिल्ला बारामतिमा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागी हुन जानेक्रममा विमान दुर्घटना भएको हो ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.