काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले देशका विभिन्न भूभागको मौसममा फेरबदल आएको छ।
यसको प्रभाव स्वरूप विशेषगरी गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भेगमा साधारणतया बादल लाग्नुका साथै पहाडी क्षेत्रमा आंशिक बदलीको अवस्था देखिएको छ भने देशका बाँकी हिमाली तथा पहाडी भूभागमा भने मौसम मुख्यतया सफा रहने देखिएको छ।
महाशाखाले आज गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने सम्भावना औँल्याएको छ।
यस्तै तराईका केही स्थानमा बिहानीपख हुस्सु र कुहिरो लाग्ने भएकाले जनजीवनमा सामान्य प्रभाव पर्न सक्ने देखिएको छ।
कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लाग्ने भए पनि देशका अन्य बाँकी भूभागमा भने मौसम मुख्यतया सफा रहने महाशाखाको पूर्वानुमान छ।





