काठमाडौँ । होटल फरेष्ट इन लिमिटेडले आजदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका प्राथमिक शेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गरेको छ ।
कम्पनीले नेपाल धितोपत्र बोर्डबाट गत पुस २० गते प्रतिकित्ता सय रुपैयाँ अंकित दरमा कुल ४० करोड रुपैयाँ बराबरको ४० लाख कित्ता साधारण शेयर निष्काशन गर्ने अनुमति पाएको थियो ।
सोमध्ये १० प्रतिशत अर्थात् ४ लाख कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि छुट्याइएको छ ।
वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूले न्यूनतम् १० कित्ता र अधिकतम दुई लाख कित्ता शेयरसम्मका लागि आवेदन दिन सक्नेछन् ।
यस आईपीओको आवेदन प्रक्रिया छिटोमा माघ ८ गते र ढिलोमा माघ १८ गतेसम्म खुला रहनेछ ।
आवेदकहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयमार्फत तथा ‘मेरो शेयर’ अनलाइन प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन् ।
कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकको भूमिकामा एनआईसी एसिया क्यापिटल लिमिटेड रहेको छ ।
पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि शेयर वितरण गरिसकेपछि कम्पनीले दोस्रो चरणमा आम सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने जनाएको छ ।





