काठमाडौँ । आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म भारत र श्रीलंकामा संयुक्त रूपमा टी-२० विश्वकप आयोजना हुँदैछ ।
सोही विश्वकपका तयारी लागि नेपाली राष्ट्रिय क्रिकेट टोली आइतबार श्रीलंका प्रस्थान गर्दैछ । त्यहाँ नेपाली टोलीले श्रीलंका ‘ए’ सँग तीन ओटा टी-२० खेल खेल्नेछन् ।
नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले श्रीलंका ‘ए’ को टोली राम्रो हुने श्रीलंका क्रिकेटले आश्वासन दिएको बताए । विश्वकपअघि नेपाली टोलीले भारत र श्रीलंकामा गरेर कुल १२ दिनको तयारी गर्नेछ ।
नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले आगामी आइसीसी टी-२० विश्वकपका लागि तयारी राम्रो भइरहेको र देशलाई गर्व गर्न लायक प्रदर्शन गर्ने बताएका छन् । पौडेलले यो तयारी पर्याप्त र राम्रो हुने भएकाले यसपल्टको विश्वकपमा देशले गर्व गर्न लायक प्रदर्शन गर्ने स्पष्ट पारे ।
उनले नेपाल प्रिमियर लिग (एनपीएल) पछि केही दिन विश्राम लिए पनि तयारी सुखद् रहेको उल्लेख गरे । तेस्रोपल्ट विश्वकप खेल्न आफ्नो टोली उत्साहित रहेको उनले बताए ।
अमेरिका र वेस्ट इन्डिजमा सम्पन्न पछिल्लो विश्वकपमा ब्याटिङका लागि पिच सहज नहुँदा रन बनाउन सबैलाई कठिन भएको रोहितले उल्लेख गरे ।
यद्यपि वाङ्खडेमा ‘हाइ स्कोरिङ’ पिच भएकाले ब्याटरहरूलाई सहज हुने र त्यहीअनुसार तयारी गरेको उनी बताउँछन् । यो पिचका लागि बलरले पनि राम्रो तयारी गर्नुपर्ने उनले उल्लेख गरे ।
नेपाली टोलीले चारै खेल वाङ्खडेमा खेल्ने तालिका छ । विश्वकपअगाडि नेपाली टोलीले दुई अभ्यास खेल वाङ्खडेभन्दा एक किलोमिटर मात्र टाढा रहेको बारबोर्न क्रिकेट स्टेडियममा (क्रिकेट क्लब अफ इण्डिया) खेल्नेछ ।
यो अभ्यास खेलले वाङ्खडेको कन्डिसनमा झिज्न नेपाली टोलीलाई मद्दत पुर्याउनेछ । नेपाली टोलीका मुख्य प्रशिक्षक स्टुआर्ट लले भारत र श्रीलंकामा हुने अभ्यासमा नेपाली टोलीलाई विश्वकप लक्षित भुमिकामा तयार बनाउने बताए ।
क्यानले शनिबार एक कार्यक्रमका बीच नेपाली टोलीलाई बिदाई गरेको थियो । क्यानका अध्यक्ष चतुरबहादुर चन्द र नेपाली कांग्रेसका नेता डा. सुनील शर्माले नेपाली टोलीको बिदाई गरेका थिए ।
सो अवसरमा नेता शर्माले वेस्ट इन्डिजसँगको टी-२० शृंखला जितेको नेपाली टोलीलाई पूर्वघोषित २० लाख रुपैयाँ पनि हस्तान्तरण गरे । आगामी विश्वकपमा सुपर आठमा पुगे २० लाख रुपैयाँ दिने उनले बताएका छन् ।
क्यानका सचिव तथा नेपाली टोलीका पूर्वकप्तान पारस खड्काले नेपाली क्रिकेट टोलीबाट देशले धेरै आशा राखेको र विश्व क्रिकेटले पनि नियाली रहेको बताए ।
पारसकै कप्तानीमा नेपालले पहिलोपल्ट सन् २०१४ मा बंगलादेशमा भएको टी ट्वान्टी विश्वकप खेलेको थियो ।
दोस्रोपल्ट विश्वकप खेल्न १० वर्ष लगाएको नेपालले तेस्रो विश्वकप भने लगातार खेल्दैछ ।
यस विश्वकपमा नेपाल समूह ‘सी’ मा छ । यस समूहमा इङ्ल्यान्ड, इटाली, वेस्ट इन्डिज र बंगलादेश छन् ।




