Nidan Media

प्रतिनिधिसभा निर्वाचन : समानुपातिकतर्फको बन्दसूचीबाट एक सय ७५ जनाको उम्मेद्वारी फिर्ता

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको बन्दसूचीबाट कूल एक सय ७५ जना उम्मेद्वारले आफ्नो नाम फिर्ता लिएका छन्।

निर्वाचन आयोगले उपलब्ध गराएको अन्तिम विवरणअनुसार एकलसहित १७ ओटा चुनाव चिह्नका उम्मेदवारले तोकिएको समयसीमाभित्र उम्मेद्वारी फिर्ता लिएका हुन्।

आयोगले पुस २८ गते बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्मका लागि नाम फिर्ता लिने समय निर्धारण गरेको थियो, जसमा उम्मेद्वार आफैँ उपस्थित भएर वा वारेसमार्फत नाम फिर्ता लिनसक्ने व्यवस्था गरिएको थियो।

आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले तोकिएको समयभित्र प्राप्त निवेदनका आधारमा एक सय ७५ जनाको नाम बन्दसूचीबाट हटाइएको जानकारी दिए।

नाम फिर्ता लिनेमा सबैभन्दा बढी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का एक सय १० जना उम्मेद्वार छन्। उक्त पार्टी अन्य दलसँग एकता प्रक्रियामा गएकाले यसअघि पेस गरिएका सबै उम्मेद्वारको नाम फिर्ता लिइएको आयोगले जनाएको छ।

यस्तै जनमत पार्टीका २०, राष्ट्रिय प्रजातन्त्र पार्टीका १२, जनादेश पार्टी नेपालका छ र नेकपा एमालेका पाँच जना उम्मेद्वारले नाम फिर्ता लिएका छन्।

नेकपा माओवादी र राष्ट्र निर्माण दलका चार/चार जना तथा नेपाली कांग्रेस, उन्नत लोकतान्त्रिक पार्टी, नेकपा र राष्ट्रिय स्वतन्त्र पार्टीका दुई/दुई जना उम्मेद्वारले बन्दसूचीबाट नाम हटाएका छन्।

यसैगरी संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्च, संयुक्त नागरिक पार्टी, राष्ट्रिय मुक्ति पार्टी नेपाल, जनता समाजवादी पार्टी, गतिशील लोकतान्त्रिक पार्टी, नेपाल जनता पार्टी र प्रगतिशील लोकतान्त्रिक पार्टीका तर्फबाट एक/एक जना उम्मेद्वारले उम्मेद्वारी फिर्ता लिएका छन्।

समानुपातिक निर्वाचन प्रणालीका लागि दलहरूले गत पुस १३ र १४ गते आयोगमा नाम पेस गरेका थिए। नेपालको संवैधानिक व्यवस्थाअनुसार २७५ सदस्यीय प्रतिनिधिसभामा प्रत्यक्षतर्फ एक सय ६५ र समानुपातिकतर्फ एक सय १० जना निर्वाचित हुने प्रावधान छ, जसका लागि आयोगले जातीय र क्षेत्रीय प्रतिनिधित्व सुनिश्चित हुने गरी व्यवस्थापन मिलाएको छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.